Tuesday, August 23, 2011

सिन्दूर देखि तर्सिएर (गजल ६३)

सिन्दुर देखी तर्सिएर भन्छ्यौ उसको खून आयो
मुटु दह्रो तिम्रै थियो फेरी किन रून आयो?

जलप लिइ मेरो प्रेमको घुम्टो भित्र लुकी बस्यौ
घुम्टो खोली पराइ भन्छ, आहा! हेर जून आयो

मनको घाउ चहर्याउँदा पिडा गुन्ज्यो यताउता
हाँस्दै भनिन् निष्ठुरीले कस्तो मिठो धून आयो

आभारी छु म त साह्रै जीन्दगीको बाटो खोल्यौ
रातो धागो बेरिएर निर्मोहीको गुन आयो

एकतारे
२०६८।०४।२९

विहान हाँसेको छ (गजल – ६२)

टाढा कहीँ यौटा रात कुरेको छ
तर आज विहान फेरी हाँसेको छ

फेरी पनि उही साथ पाएर होला
आखाभरी स्वप्न उस्तै सजेको छ

छल्किएका आँखाहरू साक्षी हुन्छन्
मन एउटा कपास बनि बाँचेको छ

मर्छन् अनि पलाउँछन् चिस्यानमा
पर्खाइमा कति मुना हुर्केको छ

निको हुँदै हुन्न घाउ थाहा भयो
दुखाइको नै बानी अब परेको छ

एकतारे
२०६८।०४।२६ गाइजात्रा

त्यही काख सिरान थियो (गजल-६१)

सपनाका बोझ थाम्ने त्यही काख सिरान थियो
बिसाएछु जीवन त्यहीँ जहाँ मेरो चिहान थियो

अँधेरोमा खोजेँ खुबै ज्योतीका ति झिल्काहरू
थाकि जब आँखा चिम्लेँ आँगनीमै विहान थियो

मिसिएर सागर बन्न चट्टान चिरी बहेका थ्यौ
उर्लिएका खोली सुके जब नजिक दोभान थियो

लक्ष्य नयाँ भेटाउँदै चल्नु थियो निरन्तर
विसाएछौ यात्रा शायद हतारको थकान थियो

उभिएथ्यो एक्लो द्रोही हरूवाको जमातमा
सगरमाथा सरी अटल त्यो त आत्म सम्मान थियो

– एकतारे, २०६८।०३।१६