पश्चिम आकाशबाट घामको लाली हराइसकेको थियो । खुला झ्यालबाट झिलिमिली तारा नियाल्दै साँझको योजना बनाउँदै थिए । ल्यापटप खोल्न हात के बढेको थियो, झ्याप्प बत्ती गयो । इन्भर्टर स्वचालित रूपमा सुचारू भयो । टोलभरीमा झलमल्ल एकमात्र घर आफ्नै भयो । तर एक घन्टामा नै त्यो बेट्रीले जवाब दियो । आखिर चार्ज गर्न उसले दिनभरीमा ८ घन्टा त पाउने हो । अनि घरमा भए भरका ४ वटा इमर्जेन्जी लाइट बालियो । फेरी घर झल्मलायो..तर केवल अर्को एक घन्टाका लागि मात्र । इन्भर्टरको भरमा त्यसलाइ चार्ज नगरेको पनि एक महिना पुगेको रहेछ । मोबाइलको मधुरो प्रकाशमा छामछुम गर्दै आमाले खाटमुनी थन्किएको लालटिन निकालिन् अनि सलाइ कोरेर बालिन...लालटिनको मधुरो उज्यालो सँगसँगै गाउँको यादहरू आँखाभरि छाउँदै आयो । जहाँ हरेक साँझ यही क्रियाकलाप हुन्थ्यो ।
आमाले भनिन् "बाबु, मट्टितेल रहेनछ लालटिनमा । भोली लिएर आइज है"
"हुन्छ"
हात पछाडीको खल्तिमा रहेको पर्स तिर गयो । खोलेर हेरेँ..निलो रंगको ५० लेखिएको एक्लो नोट ङिच्च हाँस्दै थियो । अनि सम्झिएँ दिउँसो पेट्रोलियम पदार्थको मूल्यवृद्धीको विरोधमा बाटोमा साथीहरूले लगाएको नारा । दिउँसो बलेको टायरको पिरो धूँवा सम्झियो शायद आँखाले...अनयासै रसायो ।
राम्रो छ ।
ReplyDeleteGajjab raicha la man paryo!! maile ni aafno balyakaal samjhiy!!
ReplyDeleteधन्यवाद प्रतिक्रियाका लागि :)
ReplyDelete