Thursday, March 1, 2012

फ्रस्टेसन

एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्याफे सँगै रेकर्डिङ्ग स्टुडियो पनि थियो र एकजना संगीतकार दाजु शिव पनि नजिकै भएकोले वहाँलाइ पनि बोलाइयो । साथीहरूको प्रतिक्षा सँगै संगीतकार दाजु सँग गफगाफ चल्दै थियो । त्यहाँ टुप्लुक्क नेपालका एकजना प्रसिद्ध पप गायक आइपुगे । उनी विस्तारै नजिक आए, अनि उनिसँगै आएका अर्का साथीले शिव दाइ सँग परिचय गराए । उनले म तिर यसरी आँखा लाए मानौं भन्दैथे "मलाइ चिनिनस्?" म भने वाल्ल परेर हेरेर बसिरहेको थिएँ । म भने आफ्नो परिचय कसरी दिने भनि सोच्दै थिएँ, नजिक पुगेपछि उनको मुखबाट आएको सुवासले मेरो ओंठ सिलबन्दी गरिदियो । महोदय दिउँसै फिटान भइसकेका रहेछन् । अब त के बोल्नु भनेर चुप लागियो ।

उनले कुर्सी ताने र शिव दाजु सँग गफ शुरू गरे ।

"अँ भाइलाइ कतै भेट्या जस्तो लाग्यो नि?"

"हो नि दाइ, हाम्रो तीन चार चोटी भेट भइसक्यो त, एकचोटी मिलन स्टुडियोमा, एकचोटी छायाँ एवार्ड फंक्सनमा अनि फेरी के त एबिसि  स्टुडियोमा अनुप र विराजसँग..."

"ए हो र? त्यो अनुपले पनि राम्रो गाउँछ तर अलि क्रियटिभ भएन त्यो क्या..हामी एउटै ब्याच हो नि, भाइलाइ थाहा छैन ??"
"थाहा छ नि दाइ"
"अनि त्यो विराजे..त्यो त मेरो स्टुडेन्ट हो नि । कलेजमा म्यूजिक पढाएको हो मैले तेल्लाइ...अहिले हिरो हुन्छ मुला"
ति गायक दाजुको Attitude देखेर हामी हैरान हुँदैथियो । नशाको असर होला शायद भन्ने ठहरमा पुगेँ म चै

उनि फेरी शुरू भए "भाइको थर के हो रे? .....अँ, सापकोटा होइन । मेरो मावली पनि सापकोटा हो नि..."

दाजुको  नातावाद प्रति झुकाव छ भन्ने बुझियो अनि...

"अँ दाइ...कता हो मावली"

"पैला नुवाकोट तिर हो, अहिले चै काठमाडौं मा नै हो....अँ भाइको कम्पोजिसनहरू सुन्या छु । राम्रो छ । मलाइ मनपरेको छ । Keep it up"

"Thanks दाइ, अनि दाइको नयाँ के छ? नयाँ Creation हरू के छ?"

"खै यार, गर्दैछु । कम्पोजिसनहरू गर्दैछु, यस्तै त हो म्यूजिक इन्डस्ट्री... क्रियसनलाइ टाइम लाग्छ नि यार..."

उनि शुरू भइसकेका थिए, रोक्न गाह्रो हुँदै थियो हामीलाइ...

"अब हेर न एल्बम तयार गरेर पनि के गर्नु? म्युजिक कम्पनीले सिधै लुट्छ । म भने ५-६ लाख घटी लिन्न ...सालाहरू हामीलाइ लुटेरै बाँचेका छन् । फोकटिया गरिदिए हुने जस्तो गर्छन् । अनि मुला आजकालका केटाहरूले बिगारेका छन् ट्रेन्ड । ...थोब्बडा आए पुग्यो उनिहरूलाइ । पुरा सिस्टम नै बिगारेका छन् नि... उल्टै पैसा तिरेर एल्बम निकाल्छन्..चाकडी गर्याछन् म्यूजिक कम्पनीहरूमा अनुहार देखाउन यार..मेरो जमानामा यस्तो थिएन यार...एक हात लिने, एक हात दिने...उनीहरूले पनि कमाउने, हामी पनि कमाउने..तर साला सबै कम्पनीहरू चोर भएका छन्...जम्मै यी नयाँ केटाहरूले बिगारेका हुन्.. यसो गाउन जान्या छैन, एल्बम निकाल्नु पर्ने..अनि त्यो सुनिल छ नि ... अहिले भिडियो बनाउँछ, त्यस कहाँ गयो हात मल्यो..को हो त्यो सुनिले? साला मेरो फोटोग्राफर न हो..अहिले हिरो बन्छ..तेस्ले भन्यो भने म्यूजिक कम्पनीले एलबम निकालदिन्छ रे..वाहियात..."
हामी यी गायक दाजुको पारा देखेर झन् झन् अचम्ममा पर्दै थियौं ।

"अनि के भएको यार आजकालको केटाहरूलाइ? Creation भनेको त्यसै हुन्छ यार? दिनरात घोटिएर पसिना निकालेर हुन्छ Creation..हावा पारामा गीत बनाएका छन् । फोकटिया बेच्या छन्...अनि मुला ४/५ हजारमा जहाँ गएर नि गाइदिने, जस्तो पनि गाइदिने...अनि हामी जस्ताको के भाउ रह्यो र यार? "

अब भने कुरा कताकता ठिकै हो जस्तो पनि लाग्दै थियो

"गीत बिक्दैन रे...अमेरिकामा एउटा मान्छेसँग दुइटा कम्प्यूटर, आइपोड, आइप्याड दुनिया ग्याजेट हुन्छ...त्याँ लाखौं सिडी बिक्री हुन्छ..हाम्रो नेपालमा चै पाइरेसी रे...भुत्राको पाइरेसी..केरा जस्तो गीत बनाएको छ अनि कहाँबाट बिक्री हुन्छ? ढंगको बनाए त बिक्री हुन्न र यार । मेरो जमानामा पनि त थियो पाइरेसी, त्यतीबेला क्यासेट बिक्री त हुन्थ्यो नि यार?"

वरिपरीका मान्छे ट्वाल्ल परेर तिनका कुरा सुन्दै थिए अनि हाँस्दै पनि थिए । दाइको बहकिँदो पारा देखेर उनिसँगै आएका भाइले कर गरेर उठाएर लगिहाले ।

उनि गए लगत्तै शिवदाइ बोले "हेर भाइ, मान्छेका दिन गएपछि यस्तै हो..के गर्नु बिचरा दाइ चल्न छाडे । अनि अरूलाइ दोष दिनु बाहेक अरू के नै गर्छन् र? एउटा कुरा चाँही स्वीकारे तिनले बारम्बार...जमाना उनको रहेन..हाहहाहा..."
म भने सोच्दै थिए, ती गायक दाजु जति मपाइँ पल्टेर कुरा गरेपनि कुरा त सही नै गरेका हुन् नि त....

(घटना र संवाद सत्यमा आधारित हुन् । तर यस लेखमा प्रयोग भएका सम्पूर्ण नामहरू काल्पनिक हुन्, कसैसँग मिल्न गएमा संयोग मात्र हो)

1 comment:

  1. यो घटना आफ्नै आँखाले देख्न र आफ्नै कानले सुन्न पाइन, अलिक ढिलो पुगेको भएर होला ।

    ReplyDelete