Wednesday, February 1, 2012

सुन्न नचाहेको ढुकढुकी


उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्रो । समयले हामीलाई नजिक ल्याउँदै गयो, छोटो समयमा नै मित्रता गहिरियो ।

पानी जति गहिरो, त्यती नै ठूलो भूमरी .. हाम्रो मित्रतामा पनि यस्तै उल्झन बढ्दै थिए । उल्झन भने एकै थियो । धेरै चलचित्रहरूमा प्रयोग भइरहने सम्वाद हो यो "केटा र केटी कहिले साथी हुन सक्दैन, किनकी बिचमा प्रेम आउँछ"... हाम्रो कथा पनि चलचित्र झै मोडिँदै थियो ।  विस्तारै उसको व्यवहारमा आउँदै गएको परिवर्तन मैले बुझेको थिएँ । उसलाई म सँग प्रेम भएको लक्षण प्रत्येक क्रियाकलापमा भेट्थेँ ।

मित्रताको शुरूवातमा एकअर्काको खासै चासो हुँदैन थियो हामीलाई..हप्तौं बित्थ्यो भेटघाट बिना, फोन सम्पर्क बिना..अहिले उसलाइ एकदिन फोनमा कुरा गरेन भने युग बितेको जस्तो हुँदो हो । पहिला पहिला उसको कोठा नजिकै पुग्यो भने पनि कुन बहानाले यसलाइ भगाउँ सोच्दी हो । अहिले सानोतिनो कुराका लागि पनि कोठामा आउने निम्तो आउँछ । उ व्यस्त नै छे, कहिले के कार्यक्रम, कहिले के वैठक, कहिले कताको यात्रा, कहिले के को तयारी...व्यस्त दैनिकीका वावजूद दिनको केही मिनेट निस्कन्छ उसको मलाई भेट्न । बहाना कयौं हुन्छन् भेटने तर कारण एकै..उसलाई म नभेटी चित्तै बुझ्दैन । कुराकानीका सबै विकल्पहरूको प्रयोग गर्छे उ, फोन, च्याट पनि । बत्ती हुँदो हो त उसका लागि चौबिसै घन्टा अनलाइन बसिदिनु पर्ने हुन्थ्यो । धन्न बहाना गर्नु परेको छैन, बाध्यता नै भइदिएको छ इन्टरनेट नचलाउनु ।"

आज दिउँसो  क्याफेमा भेट हुँने बित्तिकै उसले भनि
" मलाइ एकाबिहानै तिम्रो कस्तो याद आयो क्या...?"
" हँ!!! मलाइ सम्झियौ रे? हैन सम्झिनलाइ बिर्सने गर्या छ र मलाइ?"
मैले हाँसेरै कुरा उडाउन खोजेँ

अकमकाउँदै बोलि उ
"अँ...सुन न...तिमीसँग नजिक.... हुँदा मेरो मुटु ढुकढुक गर्छ "

म भने हाँसी दिएँ मज्जाले
"ए हो?? ...खै मेरो त जहिले पनि धुक्क धुक्क गरिराकै हुन्छ"
उ सक्पकाइ..एकछिन केही बोलिन ।
खिस्स हाँस्दै भनि "कति कठोर अनि निरस छ तिम्रो मुटु, सँधै एउटै तालमा चल्ने..."

मैले कुरा मोडेँ..मोड्नै पर्थ्यो । जुन बाटो जानु नै छैन त्यता सोध्ने त परको कुरा..हेर्न पनि चाहन्न ।

उ राम्री नै छे, मनसँग दिमाग पनि राम्रै चल्छ, काम गर्छे...सबैभन्दा ठूलो कुरो मलाई चिन्छे, बुझ्छे । तर पनि म उबाट टाढा भाग्छु, उसको चाहना भन्दा पर पर हुन चाहन्छु । कारण एक हैन हजार छन...
राजधानी सहरमा कामको ठेगान बिना काम गर्दैछु । दुइवटा कोठालाइ बढाएर फ्ल्याट बनाउन सकेको छैन ।  घरबेटीको डरले घर जहिले पनि अँध्यारो परेपछि पसिन्छ, थाहा छैन कहिले उसले बाँकि पैसा माग्ने हो । देशमा चलेको अभावको लहरबाट अछुतो हुन सकेको छैन मेरो भान्छा । आमा, बहिनीको ईच्छा आकांक्षा बुझेर पनि बुझ पचाई बस्नु परेको छ । पढाई ब्याचलर भन्दा उँभो लाग्न सक्या छैन, मास्टर्सको पढाइमा प्रत्येक वर्ष एउटा न एउटा विषय लागेकै छ । सम्पत्तीको नाममा एउटा पुरानो साइकल बाहेक आफ्नो केही छैन । खल्तीमा पर्स त बोकिन्छ, तर पर्स जहिले पनि हलुंगो हुन्छ ।

यी अनेक बाध्यता बिच पिल्सिएको मेरो मनका रहरहरूलाई एकान्तमा सुम्सुम्याउने त फुर्सद छैन, म कहाँ उनका लागि सपना बुनि बसुलाँ र??


"विहानी प्रहर....
यो भिडको शहर
अनि ट्राफिक जाम
अनायासै तिमीसँग
नजर जुध्दा
तिम्रो तारिफमा
हतार हतार
हत्केलामा कोरिएको एउटा कविता.....

साँझसम्मको
मेरो मेहनतले पलाएको
पसिनाले
मेटाई दिएछ "

6 comments:

  1. "विहानी प्रहर....
    यो भिडको शहर
    अनि ट्राफिक जाम
    अनायासै तिमीसँग
    नजर जुध्दा
    तिम्रो तारिफमा
    हतार हतार
    हत्केलामा कोरिएको एउटा कविता.....

    साँझसम्मको
    मेरो मेहनतले पलाएको
    पसिनाले
    मेटाई दिएछ "

    ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍..............वाह् वाह्

    ReplyDelete
    Replies
    1. धन्नेवाद । हामी गदगद भाका छम् । :)

      Delete
  2. रमाईलो पोष्ट । अलि छोटो पो भयो जस्तो लाग्यो है मलाई त । कुरा यसरी ब्लग सम्म आएपछि के हो के हो क्या? अझै परिक्षण काल गुज्रिरहेजस्तो । अनि छोटोमा मेटिएको हत्केलाको कविता चैं शसक्त छ ।

    ReplyDelete
    Replies
    1. धन्यवाद दीपकजी, यो सत्यमा आधारित कथा नै हो । अब चै अलि लम्ब्याएर कथा लेख्ने कोशिश गर्नेछु । म अलि अल्छि पनि छु । लेख्ने जाँगर चल्दैन हत्तपत्त :P

      Delete
  3. पढ्दा पढ्दै सकियो जस्तो लागो अलि लामो पोस्ट चाहियो

    ReplyDelete
    Replies
    1. अब लामो लेख्न जाँगर चलाउन पर्ला :)

      Delete