आज पनि यता उता गर्दा गर्दै पौने दश भइसक्यो । उफ्फ...कति अल्छि भइयो भने । राती दुइ बजेसम्म त फिल्म नै हेरिन्छ, अनि उठ्दा नौ बज्छ । खाना खाएर तयार हुँदा त ढिलै भइन्छ सँधै । अब इन्टरनेट हाइस्पिड भएपछि के लाग्छ, त्यसै मूभिबफ..त्यो माथी लेटेस्ट मूभीहरू सरर अनलाइन हेर्न पाएपछि के चाहियो??
हतार हतार बाइक निकालेँ । सेल्फ स्टार्ट बटन थिचेँ । घुइँय्य घुइँय्य मात्र गर्यो तर इन्जिन स्टार्ट भएन । किकस्टार्टमा एक लात दिएँ । घर्याक् घुरूक पनि गरेन । बानी छुटेछ किक हान्ने, फेरी भर्खर खाएको भाते बल निकालेर बेस्मारी किक हानेँ । एकचोटी घर्याक्क गर्यो बाइक अनि फुस्स धुँवा फाल्दै फेरी ठण्डाराम भयो । चोक लिएर फेरी हानेँ, इन्जिन स्टार्ट हुने छाँटकाँट देखिएन । अनि आँखा अगाडीको फ्यूल डिस्प्लेमा गयो । ला !! रातो बत्तीले त तेल "E" छ भन्दो रैछ । धत्तेरिका....पेट्रोल सकिएको रैछ । कस्तो सुद्धी, बेलैमा हाल्नु पर्ने थियो । बानी बिग्रिए पछि यस्तै हो । रिजर्भमा घुमाएँ अनि बाइक स्टार्ट गरेर कुदीहालेँ ।
=========
जति बाइक कुदाए पनि जम्मैले बाटोमा ओभरटेक गर्छन आजभोली । आफ्नो कुद्ने बाइक हैन जिम्मेवारी बोक्ने जो पर्यो । मोरो डिस्कभरले ९०-९५ भन्दा माथी स्पिड लिँदै लिँदैन । बाटोमा कुद्ने २५० - ५०० सिसीका बाइकहरू सँग कहाँ सक्नु?? तिनीहरूका अगाडी मेरो बाइक त साइकल जस्तो देखिन्छ । बाइक पनि नफेरी भएको छैन । ८ लेनको चौडा बाटो छोड्दै पम्प तिर जाने सहायक बाटो तिर लागेँ । पम्प निर लगेर रोकेँ बाइक । सुनसान थियो, मान्छेको अत्तो पत्तो छैन । काउन्टर पनि शून्य छ, यता उति हेरेँ तेल हाल्ने केटो कतै देखिएन । हतार भएको बेला सबैले ढिलो गर्छन, दिमाग तात्न थाल्यो बिस्तारै । अब रिसाएर पनि के गर्नु, सबै पम्पको यस्तै हालत होला । पैला जस्तो कहाँ छ अहिले? रिसको झोकंमा बेस्मारी हर्नको बटन थिचेँ । हिजो भर्खर जडान गरेको प्रेसर हर्न प्वाँ....गरी चिच्यायो । अझ पनि केटोको अत्तो पत्तो छैन । फेरी थिँचे, हर्नको कर्कश आवाज फेरी गुन्जियो...एकछिनमा काउन्टरबाटै केटो आँखा मिच्दै चियायो । रिसको झोँकमा फेरी हर्न बजाएँ, केटो उठ्यो अनि विस्तारै अगाडी बढ्यो । मेरो रिसको तापक्रम भने धरहराको उचाँईसँग प्रतिस्पर्धा गर्न थाल्यो । केटो नजिकै आयो...
"के भो दाई, किन मर्नु हरन बजाको, निद्रा बिगार्देर अर्काको"
"के भो रे?? तलाई निद्राकै पर्या छ...पम्पमा मान्छे के गर्छ आउँछ?? खुरूक्क याँ तेल हाल..."
"......"
"झन् हतार भएको बेला, मुला सुतेर बस्ने हो? मान्छे तेल हाल्न आउँछ, तयार भएर बस्न पर्दैन"
"......"
"के हेरिरा?? छिटो तेल हाल् मूला.... फूल ट्याङ्की"
"त्यो नि भनिराख्न पर्छ र? आजकल पैला जस्तो काँ हो र? पाँन्से पाँन्से को हाल्नी? फूल टंकी घटी त कसैले पाउँदैन"
"ल ल, हात चला, मुख हैन?"
"ह्या दाजु कति रिसाइरा? अब मान्छे कोही आउन्न तेल हाल्न आजकाल । फाट्टफुट्ट हो, फूल टंकि लगेपछि हप्तौसम्म आउन्नन्, पहिला जस्तो कहाँ हो र? पैला पो लामो लामो लाम हुन्थ्यो, मान्छे मारामार गर्थे पाँन्सेको तेल पाउन....अहिले त्यस्तो कहाँ छ र? काम नभए पछि अनि निद्रा लाग्छ । निद्राको सुरमा तपैँ आउनु भको थाहै पाइन, नरिसाउनु न क्या"
हो त्त है, पहिले जस्तो कहाँ हो र? सम्झिँदा पनि कहाली लाग्छ । हरेक दिन १/२ घन्टा लामो लाइनमा बसेर पेट्रोल लिनुपनि एउटा बेग्लै एडभेन्चर थियो । बाइकमा फूल टंकी पेट्रोल हुनु भनेको धनी र पावरवाला भइन्थ्यो । के कस्तो तिगडम भिडाइन्थ्यो तेलको जोहो गर्न, कति चोटि बाटोमा तेल सक्किएर बाइक् डोर्याइयो । सम्झिदाँ नि रमाइलो लाग्छ ।
"ल भरियो दाइ" केटो बोल्यो
मैले १००० को नोट निकालेर दिएँ अनि बाइक स्टार्ट गरेर गियरमा लिइँहालेँ ।
"ए ए दाइ, पख्नुस् पख्नुस"
"फेरी के भो मुला? याँ हतार छ मलाइ"
"पैसा फिर्ता लिनु पर्दैन"
"के को फिर्ता"
"ल दाइलाइ थाहा छैन, आज विहान देखि भाउ घट्यो नि तेलको"
हो त्त है । बिहान न्यूज सुन्ने हेर्ने चलन छैन आफ्नो । फेरी यो तेलको भाउको ठेगान पनि छैन आजभोली । दिनदिनै घटिदिन्छ । फिर्ता पैसा लिएँ र ज्याकेटको खल्तीमा कोचेँ ।
======
बाइक स्टार्ट मात्र गर्या थिएँ, फोन बज्यो त्यही बेला । के उठाइ भो र फोन पनि अफिस पुग्ने हतार छ । तर गर्लफ्रेन्डको पनि हुन सक्छ । फोन उठेन भने रिसाइहाल्छे । फेरी बनाउने केही बहाना पनि हुँदैन, हेर्नै पर्यो । फोन मेरो ग्याँस सप्लायर को रैछ । मोरो कति फोन गर्छ भने? उठाएर बेस्मारी हप्काउनु पर्यो । तर फेरी पर्या बेलामा मान्छे चाहिन्छ, सम्बन्ध बिगारी हाल्नु पनि भएन ।
"दाइ, कता हुनुहुन्छ"
"म बाटोमा छु पछि गर्नु न"
"कता बाटोमा?"
तेरो टाउकोमा भन्न मन लाग्या थियो मन थामेँ "अफिस जान लागेको"
"सुन्नु न त दाइ, एउटा सिलिन्डर लिनुहुन्छ??"
हरे उही कथा....उही कुरा..
"अहिले चाहिँदैन भाइ"
"हैन म डिस्काउन्ट पनि गरिदिन्छु क्या, फ्रि होम डेलिभरी"
"मलाइ चाहिएको छैन क्या भाइ, चाहिए त म भनिहाल्छु नि"
"हैन क्या दाइ, साह्रै समस्या पर्यो । याँ सिलिन्डर बढी भएर गोदाममा राख्ने ठाउँ नै भएन, दाइले एउटा लिइदिए उपकारै हुन्थ्यो मलाइ"
अब के भनुँ यसलाइ मैले? घरमा पहिले नै चारवटा भरि सिलिन्डर छ । बाथरूमको गिजरको बेग्लै, अब घरमै ल्याइदियो भन्दैमा राख्नु पनि त भएन नि । कतै केही दुर्घटना भएर आगो लाग्यो भने त घरै ड्याङ्गडुङ्ग उड्छ यार पाँचवटा सिलिन्डरले त । गर्नु त के? फेरी आजकल सबैकाम बिजुलीबाट हुन्छ, राइसकुकुर, इलेक्ट्रिक ओभन, माइक्रोवेभ ओभनमात्र चलाइन्छ । अब यो मान्छेलाइ नटारी अरू उपाय नै छैन
"सुन त भाइ, म तिमीलाइ अफिस पुगेपछि फोन गरूँला नि है । ल राखे है"
उसको उत्तर पनि नपर्खि फोन राखिदिएँ ।
=======
हुन त अफिस २० कि.मी. मात्र टाढा छ र पुग्नलाइ २० मिनेट भन्दा बढी लाग्दैन । तर यही २० मिनेट त हो नि भन्ने चककरमा जहिले पनि ढिलो गरिन्छ । अनि आपत् कस्तो भने बहाना केही हुँदैन बनाउन । पहिला पो ढुक्क थियो । जतिबेला पुगेपनि हुने, कसैले सोध्यो भने एउटै जवाफ "जाम थियो" । अझ धेरै ढिलो भयो भने "बाटोमा ट्रिपरले मान्छे हानिदियो, मान्छेले बाटो बन्द गरे" भनिदिए पछि हाकिमका बाउ जाकिमले पनि एक्स्क्यूज दिन पर्थ्यो । हरे..कहाँ गए ती स्वर्णिम दिन । कति आनन्द हुन्थ्यो । यो ८ लेनको बाटो, फ्लाइओभर बने देखि त जामको बहानै सुकेर गए । अब त मान्छे नै किचेर मारिदिँदा पनि बन्द गर्न छोडे । कुनै दिन थिए, बाटोमा कुखुरा मरेपनि देशै ठप्प हुन्थ्यो । हप्तौं बन्द हुन्थे, लाखौ कमाउँथे बाटो बन्द गरेर मान्छेले । फिल्म नै बन्यो यो टपिकमा...उफ्फ...सोच्दा सोच्दै एक्लिसेटर बटारिदै गयो आफै ।
धन्न अफिस पस्दै गरेको कसैले नोटिस गरेन । ढोका मै रहेको डिभाइसमा बुढी औंला थेप्च्याएँ र भित्र पसेँ । केबिनमा पुगेर ल्यापटप खोल्या मात्र के थिएँ फेरी मोबाइल बज्यो ।
पक्कै त्यही ग्याँसवाला हुनुपर्छ । सालेले कुरेर बस्या होला, कति बेला अफिस पुग्छ यो अनि फोन गरूँला भनेर । रिसाउँदै फोन हेरेँ । आब्बुइ...फोन त मैंयाको पो रहेछ ।
मनमा भएको तितो जतिलाइ बोलीको गुलियोमा परिवर्तन गर्दै बोलेँ "हेलो नानु"
"तँ कहाँ थिइस् यत्ति बेर सम्म?"
"म अफिसमा नै छु नि"
"खुब !!!! अफिसमा भएको भए पुग्ने बित्तिकै फोन गर्दिन थिस् र??"
"हैन क्या म अफिसमै थिएँ, अलि काममा अल्झिएको थिएँ । बाइकमा पेट्रोल हाल्दा हाल्दै अलि ढिलो पनि भयो"
"तेरा बहाना...कुन जमानामा छस् क्या तँ? कति उही बाजेको पालाका बहाना बनाउँछस् , बाइकमा पेट्रोल थिएन, जाम थियो, काम गर्दै थिएँ, मिटिङ्गमा थिएँ...अझै अहिले नेटवर्क लागेन भन्दै फोन राख्ने होला तैँले..."
अत्ति भयो अब चै....तर के नै गर्न सक्छु र? भ्यालेन्टाइन डेको मुखैमा हुँदा खाँदाको गर्लफ्रेन्ड सँग के झगडा गर्नु? यो तिन दिनमा कसरि अर्को पटाउनु? एक्लो भ्यालेन्टाइन मनाउनु जतिको बेइज्जत के होला यो संसारमा
"साँच्ची तेरो कसम ! हेर आज प्रोमिस डे हो । म झुटो बोल्दिन । साँच्चिकै पेट्रोल हाल्दा ढिलो भएको थियो "
"ल ल...यस्तै लापरवाही गर्छस् र त तँ देखि रिस उठ्छ । यस्तै पारा हो भने अर्को भ्यालेन्टाइनमा अर्कै नखरमाउली खोजे हुन्छ । "
यो भन्दा कमैकी नखरमाउली खोजौंला नि "..."
"ल साँझ मलाइ पिकअप गर्नु, डिनर सँगै गर्नुपर्छ"
अर्को आपद्....
साँझ साथीहरूसँग मिलेर फिल्म हेर्न जाने प्लान छ, कता यी मैंया सँग डिनर गरिबस्नु? यहाँ पनि बहाना कै संकट पर्छ फेरी । पहिले पो सजिलो थियो, मोबाइलको सिम निकालिदियो । अनि नेटवर्क लागेन भन्दै बेपत्ता भइ बस्यो आनन्द । यो फोरजी फोन पनि कामै नलाग्ने छ, सुरूङ्गै भित्र पसेपनि नेटवर्क देखाउँछ । फेरी महारानीलाइ भिडियो कलबाट प्रमाण दिनु पर्छ कहाँ छु भनेर? झुटो बोल्ने, लुकाउने त चान्स नै छैन । मोबाइल अफ गरेर बसुँ भने नचाहिने किचलो शुरू हुन्छ । लोडसेडिङ्ग भन्ने कस्तो चिज हो बिर्सिसकियो, दिनको २२ घन्टा लोडसेडिङ्ग हुने ठाउँ यही हो भनेर पत्याउनै गाह्रो । त्यो बेला पो मोबाइलमा चार्ज थिएन भन्दै उम्किइन्थ्यो । भो यिनीसँग बहानाबाजी गर्नु भन्दा बरू साथीहरूलाइ आउन सकिन भन्दा धेरै सजिलो होला । केटाहरूले त कुरा बुझ्छन् नि ।
======
अफिस सकिए पछि बेलैमा पिकअप गरियो मैयालाइ उनको अफिसबाट । भर्खर ५.१५ भएको छ, डिनर गर्नु अघि कतै घुम्न जानु पर्यो । बाइक हुँइक्याइयो पार्क तिर । कलकल बग्ने बाग्मती किनारको यो पार्क हामी दुवैको प्रिय डेटिङ्गस्पट हो । हराभरा रूखहरूको बिचबिचमा दुबोले भरिएको चौर यहाँ बसेर गफ गर्न थाल्यो भने समय बितेको पत्तै पाइँदैन । एउटा छेउको बेन्चमा बस्यौं दुवै ।
"रिसाएका छौ?" उनी बोलिन्
अचम्म्....रिसाउने मेरो आँट होला र?
"छैन नि, किन रिसाउनु?" खिस्स हाँस्दै भने
"अनि किन यत्ती टाढा बसेको त?" लाडिदै भनिन् उनले
हात समाएर बसेका थियौ हामी, .अब यो भन्दा कति नजिक आउनु, तैपनी अलिक सरे जस्तो गर्दै चलमलाएँ म
"धत् लाटा...कस्तो शर्मिला क्या तिमी त ।"
अचम्मको उपमा दिइन उनले "शर्मिला??"
"अनि के त? पार्कमा आफ्नै साख्खै गर्लफ्रेन्ड सँग बसेका छौ । अनि त्यो पनि यत्ति टाढा बस्छौ ...के के गर्नु पर्छ मैले सिकाउनु पर्छ अब??" लजाएको झै गर्दै बोलिन् उनले
बल्ल कुरा बुझेँ...अब पनि पछि परियो भने सन्तोष पन्तको कान्छो छोरोको पछि लागे हुन्छ .
दुवै हत्केलामा उसको दुइ गाला लिएँ र आफ्नो ओंठ चोसों पारेर उनको ओंठ तिर बढाएँ.....
तर अचम्म..उनको चिउँडो लामो हुँदै आयो, उनको अनुहार भरि बिस्तारै रौं पलाउन थाल्यो, भेम्प्याएरहरू जस्तो दुइटा कुकुर दन्त विस्तारै बढ्यो, अनि कान पनि विस्तारै लामो हुँदै गयो । उनले केही भन्दै थिइन्...तर आवाज अर्कै प्रकारको आयो "कुईयँ...."
===================
.. आवाजले तर्सिएर अचानक आँखा खुल्यो । छातीमाथी मेरो कुकुर उर्वे चढेको रैछ, अनि मैले दुवै हातले उसको गाला समातेर आफू तिर तान्दै रहेछु ....................
Dhat ! Aleli po dinu ni :D :D :D Atti bho yo chai :D :D Jhilka chha hai lekhansahaili....
ReplyDeleteलौ गजब सपना देख्नु भाको रहेछ, सबै कुरा ५० वर्षा पछी को देखे पनि सपना मा गर्लफ्रेन्ड भने हिजो आजकै देख्नु भाको रहेछ क्यारे सायद-निकै झगडालु र शंकालु,
ReplyDeleteजे होस् पढिन्जेल स्वर्गीय कल्पना गर्न कसैको बाउले रोक्न सक्दैन,
गर्लफ्रेन्डहरू सपनामा पनि सुध्रिन्नन् क्या..:P
Delete