Wednesday, February 8, 2012

नटुंगिने रहर




उनीलाइ जानु थियो, गइन् । के भयो र? मलाइ थामिनु थियो, रोकिएको छु । वाचा उनले पनि गरेकी थिइनन् आखिर ! कहाँ दोष दिन मिल्यो मैले ? जसो गरी उनिले बाटो रोजिन् मैले पनि रोज्न जान्नु पर्ने थियो । तर म त त्यही छुटिएको दोबाटोमा अल्मलिएर बसिरहेँ । न त फर्किन सकेँ, न पछ्याउनै चाहेँ । न उनले बोलाइन, न मैले बाटो छेकेँ ।

८० को दशकमा बन्ने कुनै हिन्दी चलचित्रको प्रेमकथा जस्तो छ हाम्रो कथा । एउटा धनी केटी अनि गरिब केटा ! पारिवारिक सामाजिक आर्थिक स्थिति, दुइ विच तगारो छ । तर म भने कहिले पनि त्यो चलचित्रको हिरो झै भिलेन बाउलाइ चुनोती दिन सक्ने भइन । सानो तिनो कोशिश गरेँ असफल भएँ, सम्झौता गरेँ, उनीलाइ पनि सम्झौता गर्न बाध्य बनाएँ । उनको मनमा के थियो मैले प्रस्ट बुझ्ने प्रयास कहिले गरिन । के चाहन्थिन उनि? शायद पुरा गर्ने आँट नभएरै होला कहिले उनका इच्छा पनि सोधिन ।

जानु अघि भनेकी त थिइन्, जाँदैछु भनेर । त्यो जानकारी भन्दा पनि सोधाइ थियो "म के गरूँ ?" भनेर । बुझेर पनि बुझ पचाएँ । जुनीभरीको साथको कल्पना आखिर मेरो थियो । त्यो सपना मैले साकार गर्न खोज्नु पर्ने थियो, तर आफैले पनि प्रयास गरिन । अनि मैले मेरो सपना उनको आँखामा सजाउन खोजेर भयो त? बगि गए सबै सपना, विदाइमा बगेका दुइ थोपा आँसु सँगै...तर राम्रै भयो आँसु बगे । अब शायद कहिले पनि ति आँखाबाट आँसु बग्ने छैनन् । मेरा सपनाका बोझ भन्दा उनको सपनाको उडान शायद बढी प्यारो छ ती आँखाहरूलाई...त्यै भएर त सात समुद्रपारी विरानो विदेशमा उनि खुशी छिन् ।

जब जब याद आउँछ उनको, लुसुक्क उनको फेसबुक प्रोफाइलमा जान्छु । प्रोफाइल तस्विर सँधै झै हाँसेको हुन्छ । उनको हाँसो भरी यती खुशी छल्किएको छ कि, त्यतीले पुग्छ मलाइ । यति मख्ख भइ भुल्छु उनको त्यो खुशीमा .... उनिलाइ अँगालोमा बेर्ने मान्छेको सुद्धा ख्याल हुँदैन मलाइ ।

*********************



तिम्रो माग पूरा यो भएहुन्थ्यो ।
फेरि तिमी को म को भएहुन्थ्यो ।

संसारमा दैव छ तिम्ले भन्यौ,
हाँस्दै मैले भने हो भएहुन्थ्यो ।

छोड यार सक्दैनौ मनाउन ।
उनै हुनुपर्छ जो भएहुन्थ्यो ।

बारी-बारी हाँस्दैछन लालुपाते ।
यति थाहा भएको भएहुन्थ्यो ।

(गजल- दिनेशराज ज्ञवाली, गजल श्रोत)

No comments:

Post a Comment