Tuesday, March 6, 2012

होली फिभर


हिजो साँझ एकजना मास्टर साहेबको फेसबुकमा स्टेटस देखियो । वहाँ हिजो पनि विद्यालय सञ्चालन गर्न पाएकोमा हर्ष न विस्मातको अवस्थामा थिए । धेरै होइन पोहोर सालसम्म पनि होली आउनु एकहप्ता अगाडी देखि विद्यालय बन्द हुन्थे, तर यसपाली यस्तो अवस्था छैन । आज विहानै कमलपोखरीबाट नक्साल तर्फ जाँदै थिएँ । अगाडी अगाडी पुलिसको पिकअप थियो । एक्कासी झ्याप्प पिकअप रोकियो, झन्डै ठोक्किएको थिएँ । गाडीबाट पाँच छ जना प्रहरीहरू ओर्लिए र नजिकैको गल्ली तिर दौडिए । एकछिन मै उनीहरूले पाँच जना कलेज पोशाकमा रहेका युवाहरूलाइ समातेर लिएर आए, गाडीमा कोचे अनि हिँडे । ती युवाहरू हातमा लोला बोकी बाटोमा आउने केटीहरू ढुकेर बसेका रहेछन् । शिकारी आफै शिकार परेछन् रमाइलै भयो । 


यसपाली लोला हान्ने क्रम एकदम कम भएको छ । हुन त प्रत्येक वर्ष गृह मन्त्रालयको सूचना जारी हुन्छ तर त्यो सूचनामा नै सिमित हुन्थ्यो । यसपाली भने प्रशासन अलि तात्तिएको छ । बाटो, गल्ली गल्लीमा प्रहरीको गस्ती हुदैँछ र लोला हान्ने कार्य नियन्त्रण भइरहेको छ । पक्राउ पर्नेलाइ सार्वजनिक अपराध मुद्दा चलाइने छ भनि प्रहरीले चेतावनी दिएको छ । मलाइ भने यो कुराले एकदम खुशी लागेको छ ।


होली भन्ने बित्तिकै रंग पनि सँगसँगै आउँछन् । रंगहरू भनेको सूर्यको उज्यालो , हर्ष, उल्लासको प्रतिक हो । चिसो शिशिर पछि सँघारमै रहेको बसन्तको आगमनलाइ हर्ष खुशी बाँडेर स्वागत गर्ने पर्वको रूपमा होली लिइन्छ । होलीका बारेमा विभिन्न मिथकहरू छन् । विष्णुभक्त प्रल्हादलाइ मार्न भनि आगोबाट नजल्ने वरदान पाएकी राक्षसी होलीकाले प्रल्हादलाइ काखमा लिइ आगोमा बस्दा आफैं भस्म भएको हुँदा होलीको अघिल्लो रात धुनी जलाउने प्रचलन रहेको छ । सत्यको असत्यमाथी भएको विजयको प्रतिकको रूपमा अर्को दिन होली पर्व मनाइन्छ । अर्को मिथक अनुासर श्रीकृष्णले वृन्दावनमा गोपीनीहरूसँग रँग खेलेर हर्षोल्लास मनाएकोले होली पर्व मनाउन थालिएको हो भनिन्छ । 


होलीको पर्व भक्तपुरमा चाँही बेग्लै रमाइलो तरिकाले मनाइदोँ रहेछ । भक्तपुरको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिँदो रैछ । नेवारी परम्परा अनुसार यसलाई "चिर स्वायगू" भनिँदो रहेछ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको  काठबाट बनेको दुई हात लामो लिंग अर्थात लगलाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ  यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा झुण्ड्याउने गरिन्छ । झुन्ड्याएको लिंग हल्लाउदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा लिइने गरेको छ । 

हाम्रो समाजले होलीलाइ हर्षोल्लासको उत्सवको रूपमा मनाउने गरेपनि विकृतीहरू धेरै नै पलाएका छन् । फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर बसन्तपुरमा गाडे पछि होली पर्व सुरु भएको मानिन्छ। यसरी सुरु भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि सम्पन्न हुन्छ। चिर गाडिएको दिन देखि नै होली शुरू भएको मानिन्छ र यही दिनदेखि नै राजधानी शहरमा लोला आतंक शुरू हुन्छ । विशेषगरी महिलाहरू बाटोमा हिँड्न नसक्ने अवस्थामा पुग्छन् । मानौं, होलीको चिर उनीहरूलाइ सताउने लाइसेन्स हो र यो लाइसेन्स प्रत्येक बच्चा बच्चालाइ प्राप्त छ । बच्चा, युवाहरू निर्धक्क भएर बेलुन, प्लास्टिकमा फोहोर पानी भरेर बाटोमा हिँड्ने केटीहरूलाइ तारो बनाएर प्रहार गर्छन् र उनीहरूको बिचल्ली हुँदा सारा समाज तमाशा हेर्छ । बच्चाका अभिभावक, बटुवा र अन्य सबै रमाइलो मानेर हाँस्छन् । होलीका दिन पनि इच्छा भएपनि नभएपनि रंग र पानीमा भिज्नै पर्ने बाध्यता हुन्छ । सत्यको असत्य माथी भएको विजय भन्दा पनि श्रीकृष्णको लिलालाइ हाम्रो समाजले बढी अपनाएको छ । 


होलीको दिन म कहिले पनि बाहिर निस्किन्न । होली मेरो लागि कहिले प्रिय भएन । यो दिन मेरो स्वतन्त्रता हनन भएको महसुस हुन्छ । तराइ (तौलिहवा, कपिलवस्तु)  हुँदा होली मजाले खेलिन्थ्यो, त्यहाँको होलीमा बेग्लै मजा हुन्थ्यो । विहान "माटी" खेल्ने भनि धूलो, हिलो र पानीबाट होली खेलिसकेपछि दिउँसो नुहाइ धुवाइ गरिसकेपछि अबिर र रंगपानीले होली खेलिन्थ्यो । कुनै पनि जोरजबरजस्ती बिना एकआपसमा रंग, अबिर लगाएर रमाइलो गरिन्थ्यो । त्यस्तो रमाइलो होली राजधानी शहरले मलाइ दिन सकेको छैन । धेरै चोटी लोलाको चुकेको निशानाको शिकार भएँ , अनि बाटोबाटोमा झगडा गर्दै हिँडियो । त्यही भएर पनि सकेसम्म म होलीका दिन घरमै गुप्तवासमा हुन्छु ।

होली रंगको पर्व हो । विभिन्न रंगमा रंगिएर एकआपसमा खुशी बाँड्नु यो चाँडको ध्येय हो । यही चाँडको नाममा लोला हानेर मान्छेलाइ दुःख दिने चलनले यो पर्व प्रति नै वितृष्णा जगाएको छ। मर्यादित र संयमित भइ यो पर्व मनाएमा पक्कै पनि यो पर्वले दिने उल्लास अतुलनिय छ ।
सम्पूर्णमा होलीको शुभकामना :)

Thursday, March 1, 2012

फ्रस्टेसन

एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्याफे सँगै रेकर्डिङ्ग स्टुडियो पनि थियो र एकजना संगीतकार दाजु शिव पनि नजिकै भएकोले वहाँलाइ पनि बोलाइयो । साथीहरूको प्रतिक्षा सँगै संगीतकार दाजु सँग गफगाफ चल्दै थियो । त्यहाँ टुप्लुक्क नेपालका एकजना प्रसिद्ध पप गायक आइपुगे । उनी विस्तारै नजिक आए, अनि उनिसँगै आएका अर्का साथीले शिव दाइ सँग परिचय गराए । उनले म तिर यसरी आँखा लाए मानौं भन्दैथे "मलाइ चिनिनस्?" म भने वाल्ल परेर हेरेर बसिरहेको थिएँ । म भने आफ्नो परिचय कसरी दिने भनि सोच्दै थिएँ, नजिक पुगेपछि उनको मुखबाट आएको सुवासले मेरो ओंठ सिलबन्दी गरिदियो । महोदय दिउँसै फिटान भइसकेका रहेछन् । अब त के बोल्नु भनेर चुप लागियो ।

उनले कुर्सी ताने र शिव दाजु सँग गफ शुरू गरे ।

"अँ भाइलाइ कतै भेट्या जस्तो लाग्यो नि?"

"हो नि दाइ, हाम्रो तीन चार चोटी भेट भइसक्यो त, एकचोटी मिलन स्टुडियोमा, एकचोटी छायाँ एवार्ड फंक्सनमा अनि फेरी के त एबिसि  स्टुडियोमा अनुप र विराजसँग..."

"ए हो र? त्यो अनुपले पनि राम्रो गाउँछ तर अलि क्रियटिभ भएन त्यो क्या..हामी एउटै ब्याच हो नि, भाइलाइ थाहा छैन ??"
"थाहा छ नि दाइ"
"अनि त्यो विराजे..त्यो त मेरो स्टुडेन्ट हो नि । कलेजमा म्यूजिक पढाएको हो मैले तेल्लाइ...अहिले हिरो हुन्छ मुला"
ति गायक दाजुको Attitude देखेर हामी हैरान हुँदैथियो । नशाको असर होला शायद भन्ने ठहरमा पुगेँ म चै

उनि फेरी शुरू भए "भाइको थर के हो रे? .....अँ, सापकोटा होइन । मेरो मावली पनि सापकोटा हो नि..."

दाजुको  नातावाद प्रति झुकाव छ भन्ने बुझियो अनि...

"अँ दाइ...कता हो मावली"

"पैला नुवाकोट तिर हो, अहिले चै काठमाडौं मा नै हो....अँ भाइको कम्पोजिसनहरू सुन्या छु । राम्रो छ । मलाइ मनपरेको छ । Keep it up"

"Thanks दाइ, अनि दाइको नयाँ के छ? नयाँ Creation हरू के छ?"

"खै यार, गर्दैछु । कम्पोजिसनहरू गर्दैछु, यस्तै त हो म्यूजिक इन्डस्ट्री... क्रियसनलाइ टाइम लाग्छ नि यार..."

उनि शुरू भइसकेका थिए, रोक्न गाह्रो हुँदै थियो हामीलाइ...

"अब हेर न एल्बम तयार गरेर पनि के गर्नु? म्युजिक कम्पनीले सिधै लुट्छ । म भने ५-६ लाख घटी लिन्न ...सालाहरू हामीलाइ लुटेरै बाँचेका छन् । फोकटिया गरिदिए हुने जस्तो गर्छन् । अनि मुला आजकालका केटाहरूले बिगारेका छन् ट्रेन्ड । ...थोब्बडा आए पुग्यो उनिहरूलाइ । पुरा सिस्टम नै बिगारेका छन् नि... उल्टै पैसा तिरेर एल्बम निकाल्छन्..चाकडी गर्याछन् म्यूजिक कम्पनीहरूमा अनुहार देखाउन यार..मेरो जमानामा यस्तो थिएन यार...एक हात लिने, एक हात दिने...उनीहरूले पनि कमाउने, हामी पनि कमाउने..तर साला सबै कम्पनीहरू चोर भएका छन्...जम्मै यी नयाँ केटाहरूले बिगारेका हुन्.. यसो गाउन जान्या छैन, एल्बम निकाल्नु पर्ने..अनि त्यो सुनिल छ नि ... अहिले भिडियो बनाउँछ, त्यस कहाँ गयो हात मल्यो..को हो त्यो सुनिले? साला मेरो फोटोग्राफर न हो..अहिले हिरो बन्छ..तेस्ले भन्यो भने म्यूजिक कम्पनीले एलबम निकालदिन्छ रे..वाहियात..."
हामी यी गायक दाजुको पारा देखेर झन् झन् अचम्ममा पर्दै थियौं ।

"अनि के भएको यार आजकालको केटाहरूलाइ? Creation भनेको त्यसै हुन्छ यार? दिनरात घोटिएर पसिना निकालेर हुन्छ Creation..हावा पारामा गीत बनाएका छन् । फोकटिया बेच्या छन्...अनि मुला ४/५ हजारमा जहाँ गएर नि गाइदिने, जस्तो पनि गाइदिने...अनि हामी जस्ताको के भाउ रह्यो र यार? "

अब भने कुरा कताकता ठिकै हो जस्तो पनि लाग्दै थियो

"गीत बिक्दैन रे...अमेरिकामा एउटा मान्छेसँग दुइटा कम्प्यूटर, आइपोड, आइप्याड दुनिया ग्याजेट हुन्छ...त्याँ लाखौं सिडी बिक्री हुन्छ..हाम्रो नेपालमा चै पाइरेसी रे...भुत्राको पाइरेसी..केरा जस्तो गीत बनाएको छ अनि कहाँबाट बिक्री हुन्छ? ढंगको बनाए त बिक्री हुन्न र यार । मेरो जमानामा पनि त थियो पाइरेसी, त्यतीबेला क्यासेट बिक्री त हुन्थ्यो नि यार?"

वरिपरीका मान्छे ट्वाल्ल परेर तिनका कुरा सुन्दै थिए अनि हाँस्दै पनि थिए । दाइको बहकिँदो पारा देखेर उनिसँगै आएका भाइले कर गरेर उठाएर लगिहाले ।

उनि गए लगत्तै शिवदाइ बोले "हेर भाइ, मान्छेका दिन गएपछि यस्तै हो..के गर्नु बिचरा दाइ चल्न छाडे । अनि अरूलाइ दोष दिनु बाहेक अरू के नै गर्छन् र? एउटा कुरा चाँही स्वीकारे तिनले बारम्बार...जमाना उनको रहेन..हाहहाहा..."
म भने सोच्दै थिए, ती गायक दाजु जति मपाइँ पल्टेर कुरा गरेपनि कुरा त सही नै गरेका हुन् नि त....

(घटना र संवाद सत्यमा आधारित हुन् । तर यस लेखमा प्रयोग भएका सम्पूर्ण नामहरू काल्पनिक हुन्, कसैसँग मिल्न गएमा संयोग मात्र हो)

Tuesday, February 28, 2012

नगरकोटको बाटो, एउटा घटना

आज साँझ कमलविनायकस्थित साथीको कोठा बाट फर्किदै थिएँ । सूर्यविनायक तिर जानुपर्ने भएको हुँदा कमलविनायक चोकबाट जगाती तिर मोडिएँ । अलि अगाडी बढेपछि बाइकको लस्कर देखियो । जमानाको भर छैन पक्कै केही दुर्घटना भएर जाम भएको हो जस्तो लाग्यो । तर भिड भएपनि बाइकहरू गुडिरहेकै थिए । अचम्म लाग्यो..अलि अगाडी पुगेँ । खासमा एउटा कारको पछाडी पछाडी जम्मै बाइकहरू विस्तारै हिँडिरहेका रहेछन् । त्यो कारलाइ ओभरटेक गरेर अगाडी जान पनि सकिन्थ्यो तर अगाडी जान कोही पनि इच्छुक देखिएनन् । कौतुहलता जाग्यो..आखिर के रहेछ भनेर । अनि आँखा गडाए त्यो गाडीमा...

सूर्यविनायक, जगाती, कमलविनायक हुँदै नगरकोट जाने बाटो पर्दछ र फर्कने बाटो पनि यहि नै हो । त्यो कारको पछिल्लो सिटमा एक जोडी रहेछन् । नियालेर हेरेँ, भर्खर टिनएज पार गरेका मंगोलियन अनुहारका जोडी रहेछन् त्यो प्राइवेट कारमा । पक्कै पनि यो जोडी नगरकोटको रमणिय मौसमको दिनभरी मजा लिएर फर्केका हुनपर्छ । तर दिनभरीको साथको रन्को अझै उत्रेको रहनेछ शायद जोडीलाइ...उनीहरू वरिपरिको संसार भुलेर एकआपसमा डुबेका थिए । उनीहरूको मायालु क्रियाकलाप मनको घेरा तोडेर शारिरीक हुँदैथियो । अँगालोमा बेरिएर चुम्बनसम्म पुगेको थियो ।

विश्वव्यापीकरणको प्रभावमा परिवर्तनको संघारमा छ हाम्रो समाज ।  हाम्रो परम्परा र संस्कृति भन्दा बाहिरका  बानी व्यहोरा नयाँ पुस्ताले अपनाउँदैछ । पुरानो पुस्ता भने यसको विरोधमा छ । यो पनि यस्तै विषय न हो ।  पुस्ता पुस्ता विचको विभेद हरेक समाजले देखेको भोगेको छ, हामी पनि अपवाद होइनौं । तर कुन हदसम्म चलेका संस्कारलाइ तोड्ने भन्ने कुरामा नयाँ पुस्ता पनि सचेत हुन जरूरी छ । त्यो जोडी त संसारको मतलब नराखी आफू मै हराइरहेका थिए । तर ति पछि पछि लागेका बाइकवालाहरू यसरी रमाउँदै थिएँ मानो उनीहरूले बाटो माझ सित्तैमा "पोर्न" हेरिरहेका छन् । मलाइ बडो Awkward लाग्यो, बाइकको एक्सिलेटर बटारेँ  र हुँइकिँए ....

Sunday, February 26, 2012

झगडा र माया, माया र झगडा

Pic by Stefan Stenudd
सुनेको, देखेको र भनेको कुरा, प्रेम पागल हुन्छ । हुँदो रहेछ, थाहा हुन गाह्रो भएन । पागलपन पनि रमाइलो र लोभलाग्दो हुँदो रहेछ । सम्बन्ध कति लामो भन्ने कुरा मायनै राख्दैन रहेछ अपनत्वको गहिराइ लिन । केही पल, केही दिन, केही महिना पनि काफी हुँदो रहेछ मन नछुटिने गरी गाँसिन । मायाको तलाउ जति गहिरो, त्यती नै चर्को भूमरी अर्थात माया जति हुन्छ त्यती नै बढी झगडा हुन्छ । अनि नाता कति बलियो छ भन्ने कुरा झगडा पर्दा नै थाहा हुँदो रहेछ । रातभरिको शितले जति चिसो पारेपनि विहानी पहिलो किरणले शितलाइ पगालेर वाफ बनाए जस्तो जति नै झगडा गरेपनि एउटा मुस्कानमा सबै रिस हराउँछ हाम्रो । भेट हुँदा मच्ची मच्ची झगडा गर्नु, सानो तिनो कुरालाइ बढाउँदै लगेर समस्याको विशाल पहाड बनाउनु, रिसले वाफ्फिँदै त्यो पहाडको उँचाइमा पुग्नु...अनि उही पहाडमा ठोक्किएर बर्सिनु । एकअर्काको काँधमा शिर राखी पग्लिदाँ आत्मियताको त्यो गहिराइ छोइँदो रहेछ, जुन सामान्य अवस्थामा भेउ पनि पाइदैन ।

कल्पनामा, सपनामा, सम्झनामा....हामी हरपल सँगै हुन्छौं । भौतिक रूपमा सँगै नहुनमा मानौ यो संसार नै बाधक हो हाम्रो लागि । सँगै रहन चाहेर पनि, अनेक बहानामा अलग अलग रहनु पर्ने । अफिस, घर, परिवार, पढाइ..बहाना मात्र हुन् हामीलाइ अलग गर्ने । धन्न विज्ञानले टेलिफोन भन्ने यन्त्र बनाएको छ हामीलाइ एउटै सूत्रमा बाँधेर राख्न । खुलेर, लुकेर, छलेर हामी एकअर्कालाइ फोन गरिहाल्छौं । कहिले काँही त एकअर्कालाइ फोन गरिरहदाँ दुवैको फोन व्यस्त हुन्छ..अनि फेरी एकचोटी झगडा पर्छ किन र को सँग फोन व्यस्त भनेर..। फोनमा ठाकठुक परेपछि एउटा न एउटाले रिसाएर फोन राखेकै हुन्छ । फेरी घन्टौसम्म त्यही फोनमा एकोहोरो आँखा गडाएर बस्ने पनि उही नै हुन्छ । फोन आउने बित्तिकै हत्त न पत्त उठाएर यति बेर फोन नगर्नुको गुनासो गर्ने पनि उही फेरी । आफै गरे पनि हुन्थ्यो नि यस्तै गाह्रो परेको भए । उफ्फ !!! एउटा रमाइलो नाटक झै लाग्ने खेल चल्छ सँधै दुइबिच । तर जति एकआपसमा नाक ठोक्काए पनि छुट्टिन सक्ने होइन हामी । प्रेमको सुपरग्लूले टाँस्सिएको दुइटा मन एकछिनमै फेरी एकअर्काबाट नछुट्टिने स्वरूपमा आइपुग्छन् ।

कतै टाढा गएको बेलाको तड्पन बेग्लै हुन्छ । चाहेर पनि भेट्न नसकिने अवस्थामा मोबाइल एकमात्र साधन रहन्छ । छुटिने बेलामा बाचा गरिएको हुन्छ "प्रिय, तिमी र म बिच मात्र एककल फोनको दूरी छ" । यसो भन्दा नेपालको टेलिकम कतिको बेइमान छ हामीले बिर्सेका हुन्छौ । फोन नलाग्नु, लागेपनि स्पष्ट नहुनु, आदि इत्यादी विभिन्न समस्याका बिच टेलिकमसँग उठेको रिस पोख्ने फेरी एकअर्का मै हो । 
"फोन लाग्या बेला कुरा गर्नु नि, फोन नलाग्ने बेला चै फुर्सदले बस्यो, बल्ल तल्ल फोन लाग्या बेलामा चै काम गर्नु पर्ने होइन?"
"हैन अलि फोन लाग्ने ठाउँमा बस्न सक्दैनस्?"
"ब्याट्री चार्ज गरेर राख्नु नि, झन मलाइ ने फोन गर्ने बेला तेरो ब्याट्री सकाउने? अरूलाइ त खुब फोन गर्छस् नि ब्याट्री हुन्जेल"
आदि इत्यादी...तर यी सबै ठाक्ठुक पछाडीको कारण भनेको दूरीको छट्पटी न हो । कतै टावरले नभेट्ने ठाउँ तिर जाँदाको दुःख त के बयान गर्नु? हरेक चोटी फोन गर्दा एनटिसीकि दिदीको झर्कोलाग्दो आवाजले माफी माग्दा त माफ शब्द देखि नै वितृष्णा लाग्छ । "माफ गर्नुहोला, तपाइँले..." मानौ फुटपाथे माग्नेले वाक्क लाउने गरी खुट्टा समाउँदै भिख माग्दैछन् । दिनौको छटपटी पछि बल्ल तल्ल उसको फोन आउँछ, फोन उठ्ने बित्तिकै उसले सोध्नेछ " के छ तेरो हालखबर" अनि सबै हालखबर एकैचोटी ठिक हुन्छ ।

मायाको सम्बन्ध भनेको यस्तै हुँदो रहेछ । मायाको मलजल पाएपछि अपेक्षा र आकांक्षाका मुनाहरू हरर हुर्किँदा रहेछन् । अपेक्षा पुरा नभएपछि मन त्यसै झर्किँदो रहेछ, अनि झगडा पनि हुँदो रहेछ । अर्थात जति माया गहिरो र बलियो, उत्ती नै झगडा । सारा संसार सँग रिसले झगडा गर्छु, उ सँग चै मायाले झगडा गर्छु...ल आइज एकचोटी फेरी झगडा गरूँ....

तितो पिरो नथपे त माया मिठो कहाँ होला
कैले काँही पहिरिन रिसको नकाब लिइ आउनु

हृदयको लाली पोती हातमा गुलाब लिइ आउनु

Sunday, February 19, 2012

अब त बाँच्ने आधार छ (गजल)





अब त बाँच्ने आधार छ
अँगालोमा यो मुहार छ

एक्लै हाँस्न कहिले रुन
बहानै त हो हजार छ

रोएछु भेट भएको बेला
मन खाली गर्न हतार छ

म र तिमी साँघुरो भयौं
हामी भई दिए संसार छ

आँसु देउ लैजाउ हाँसो
'दिनेश'को यस्तै व्यापार छ

'एकतारे' मिठो बज्दैछ आज
धुनमा मिलनको झंकार छ


साथी दिनेशराज ज्ञवाली सँगको सहलेखनमा पहिलो गजल । वहाँको वैवाहिक जिवनको लागि शुभकामना सहित यो गजल यो जोडीमा समर्पित . . . .

Tuesday, February 14, 2012

उपहार आगो देउ (गजल - ६९)


म भन्दा नि अग्लो भयौ र त नजर झुकेको छ
जुधाको छु नजर र त मेरो शिर उठेको छ

तिम्ले दिँदा दम्भ नहोस् लिंदा ममा शरम नहोस्
खुलेको छ मुठ्ठी र त हातहरू फैलेको छ

ए मौकाहरू ! अलि बढी जोर गर ढक्ढाकाउन
बेरोजगार भएर होला जाँगर मेरो सुतेको छ

उपहार आगो देउ भित्रै देखि सल्काइ देउ
उज्यालो त हुन्छ उही धपधपी जो बलेको छ

उठेको त्यो शिरले नै हेरेन पिर पैतालाको
भुल्यो कतै पैतालाले उसको आधार चुमेको छ

ढाकिएको आकाश भरि देख्छु म त आशाहरू
कालो बादल छाएर नै बिजुली यो चम्केको छ

किनाराको घेरा तोड्दै खोली जब उर्ली आउँछ
बुझ्नु अनि पक्कै पनि त्यो ओह्रालो झरेको छ

नेपालीगजल.कममा प्रकाशित गजल

Saturday, February 11, 2012

Relax जिन्दगी

आज पनि यता उता गर्दा गर्दै पौने दश भइसक्यो । उफ्फ...कति अल्छि भइयो भने । राती दुइ बजेसम्म त फिल्म नै हेरिन्छ, अनि उठ्दा नौ बज्छ । खाना खाएर तयार हुँदा त ढिलै भइन्छ सँधै । अब इन्टरनेट हाइस्पिड भएपछि के लाग्छ, त्यसै मूभिबफ..त्यो माथी लेटेस्ट मूभीहरू सरर अनलाइन हेर्न पाएपछि के चाहियो?? 
हतार हतार बाइक निकालेँ । सेल्फ स्टार्ट बटन थिचेँ । घुइँय्य घुइँय्य मात्र गर्यो तर इन्जिन स्टार्ट भएन । किकस्टार्टमा एक लात दिएँ । घर्याक् घुरूक पनि गरेन । बानी छुटेछ किक हान्ने, फेरी भर्खर खाएको भाते बल निकालेर बेस्मारी किक हानेँ । एकचोटी घर्याक्क गर्यो बाइक अनि फुस्स धुँवा फाल्दै फेरी ठण्डाराम भयो । चोक लिएर फेरी हानेँ, इन्जिन स्टार्ट हुने छाँटकाँट देखिएन । अनि आँखा अगाडीको फ्यूल डिस्प्लेमा गयो । ला !! रातो बत्तीले त तेल "E" छ भन्दो रैछ । धत्तेरिका....पेट्रोल सकिएको रैछ । कस्तो सुद्धी, बेलैमा हाल्नु पर्ने थियो । बानी बिग्रिए पछि यस्तै हो । रिजर्भमा घुमाएँ अनि बाइक स्टार्ट गरेर कुदीहालेँ ।

=========


जति बाइक कुदाए पनि जम्मैले बाटोमा ओभरटेक गर्छन आजभोली । आफ्नो कुद्ने बाइक हैन जिम्मेवारी बोक्ने जो पर्यो । मोरो डिस्कभरले ९०-९५ भन्दा माथी स्पिड लिँदै लिँदैन । बाटोमा कुद्ने २५० - ५०० सिसीका बाइकहरू सँग कहाँ सक्नु?? तिनीहरूका अगाडी मेरो बाइक त साइकल जस्तो देखिन्छ । बाइक पनि नफेरी भएको छैन । ८ लेनको चौडा बाटो छोड्दै पम्प तिर जाने सहायक बाटो तिर लागेँ ।  पम्प निर लगेर रोकेँ बाइक । सुनसान थियो, मान्छेको अत्तो पत्तो छैन । काउन्टर पनि शून्य छ, यता उति हेरेँ तेल हाल्ने केटो कतै देखिएन । हतार भएको बेला सबैले ढिलो गर्छन, दिमाग तात्न थाल्यो बिस्तारै । अब रिसाएर पनि के गर्नु, सबै पम्पको यस्तै हालत होला । पैला जस्तो कहाँ छ अहिले? रिसको झोकंमा बेस्मारी हर्नको बटन थिचेँ । हिजो भर्खर जडान गरेको प्रेसर हर्न प्वाँ....गरी चिच्यायो । अझ पनि केटोको अत्तो पत्तो छैन । फेरी थिँचे, हर्नको कर्कश आवाज फेरी गुन्जियो...एकछिनमा काउन्टरबाटै केटो आँखा मिच्दै चियायो । रिसको झोँकमा फेरी हर्न बजाएँ, केटो उठ्यो अनि विस्तारै अगाडी बढ्यो । मेरो रिसको तापक्रम भने धरहराको उचाँईसँग प्रतिस्पर्धा गर्न थाल्यो । केटो नजिकै आयो...

"के भो दाई, किन मर्नु हरन बजाको, निद्रा बिगार्देर अर्काको"

"के भो रे?? तलाई निद्राकै पर्या छ...पम्पमा मान्छे के गर्छ आउँछ??   खुरूक्क याँ तेल हाल..."

"......"

"झन् हतार भएको बेला, मुला सुतेर बस्ने हो? मान्छे तेल हाल्न आउँछ, तयार भएर बस्न पर्दैन"

"......"

"के हेरिरा?? छिटो तेल हाल् मूला.... फूल ट्याङ्की"

"त्यो नि भनिराख्न पर्छ र? आजकल पैला जस्तो काँ हो र? पाँन्से पाँन्से को हाल्नी? फूल टंकी घटी त कसैले पाउँदैन"

"ल ल, हात चला, मुख हैन?"

"ह्या दाजु कति रिसाइरा? अब मान्छे कोही आउन्न तेल हाल्न आजकाल । फाट्टफुट्ट हो, फूल टंकि लगेपछि हप्तौसम्म आउन्नन्, पहिला जस्तो कहाँ हो र? पैला पो लामो लामो लाम हुन्थ्यो, मान्छे मारामार गर्थे पाँन्सेको तेल पाउन....अहिले त्यस्तो कहाँ छ र? काम नभए पछि अनि निद्रा लाग्छ । निद्राको सुरमा तपैँ आउनु भको थाहै पाइन, नरिसाउनु न क्या"

हो त्त है, पहिले जस्तो कहाँ हो र? सम्झिँदा पनि कहाली लाग्छ । हरेक दिन १/२ घन्टा लामो लाइनमा बसेर पेट्रोल लिनुपनि एउटा बेग्लै एडभेन्चर थियो । बाइकमा फूल टंकी पेट्रोल हुनु भनेको धनी र पावरवाला भइन्थ्यो । के कस्तो तिगडम भिडाइन्थ्यो तेलको जोहो गर्न, कति चोटि बाटोमा तेल सक्किएर बाइक् डोर्याइयो । सम्झिदाँ नि रमाइलो लाग्छ । 

"ल भरियो दाइ" केटो बोल्यो

मैले १००० को नोट निकालेर दिएँ अनि बाइक स्टार्ट गरेर गियरमा लिइँहालेँ ।

"ए ए दाइ, पख्नुस् पख्नुस"

"फेरी के भो मुला? याँ हतार छ मलाइ"

"पैसा फिर्ता लिनु पर्दैन"

"के को फिर्ता"

"ल दाइलाइ थाहा छैन, आज विहान देखि भाउ घट्यो नि तेलको"

हो त्त है । बिहान न्यूज सुन्ने हेर्ने चलन छैन आफ्नो । फेरी यो तेलको भाउको ठेगान पनि छैन आजभोली । दिनदिनै घटिदिन्छ । फिर्ता पैसा लिएँ र ज्याकेटको खल्तीमा कोचेँ ।


======


बाइक स्टार्ट मात्र गर्या थिएँ, फोन बज्यो त्यही बेला । के उठाइ भो र फोन पनि अफिस पुग्ने हतार छ । तर गर्लफ्रेन्डको पनि हुन सक्छ । फोन उठेन भने रिसाइहाल्छे । फेरी बनाउने केही बहाना पनि हुँदैन, हेर्नै पर्यो । फोन मेरो ग्याँस सप्लायर को रैछ । मोरो कति फोन गर्छ भने? उठाएर बेस्मारी हप्काउनु पर्यो । तर फेरी पर्या बेलामा मान्छे चाहिन्छ, सम्बन्ध बिगारी हाल्नु पनि भएन ।

"दाइ, कता हुनुहुन्छ"

"म बाटोमा छु पछि गर्नु न"

"कता बाटोमा?"

तेरो टाउकोमा भन्न मन लाग्या थियो मन थामेँ "अफिस जान लागेको"

"सुन्नु न त दाइ, एउटा सिलिन्डर लिनुहुन्छ??"

हरे उही कथा....उही कुरा..

"अहिले चाहिँदैन भाइ"

"हैन म डिस्काउन्ट पनि गरिदिन्छु क्या, फ्रि होम डेलिभरी"

"मलाइ चाहिएको छैन क्या भाइ, चाहिए त म भनिहाल्छु नि"

"हैन क्या दाइ, साह्रै समस्या पर्यो । याँ सिलिन्डर बढी भएर गोदाममा राख्ने ठाउँ नै भएन, दाइले एउटा लिइदिए उपकारै हुन्थ्यो मलाइ"

अब के भनुँ यसलाइ मैले? घरमा पहिले नै चारवटा भरि सिलिन्डर छ । बाथरूमको गिजरको बेग्लै, अब घरमै ल्याइदियो भन्दैमा राख्नु पनि त भएन नि । कतै केही दुर्घटना भएर आगो लाग्यो भने त घरै ड्याङ्गडुङ्ग उड्छ यार पाँचवटा सिलिन्डरले त । गर्नु त के? फेरी आजकल सबैकाम बिजुलीबाट हुन्छ, राइसकुकुर, इलेक्ट्रिक ओभन, माइक्रोवेभ ओभनमात्र चलाइन्छ । अब यो मान्छेलाइ नटारी अरू उपाय नै छैन

"सुन त भाइ, म तिमीलाइ अफिस पुगेपछि फोन गरूँला नि है । ल राखे है"

उसको उत्तर पनि नपर्खि फोन राखिदिएँ ।


=======


हुन त अफिस २० कि.मी. मात्र टाढा छ र पुग्नलाइ २० मिनेट भन्दा बढी लाग्दैन । तर यही २० मिनेट त हो नि भन्ने चककरमा जहिले पनि ढिलो गरिन्छ । अनि आपत् कस्तो भने बहाना केही हुँदैन बनाउन । पहिला पो ढुक्क थियो । जतिबेला पुगेपनि हुने, कसैले सोध्यो भने एउटै जवाफ "जाम थियो" । अझ धेरै ढिलो भयो भने "बाटोमा ट्रिपरले मान्छे हानिदियो, मान्छेले बाटो बन्द गरे" भनिदिए पछि हाकिमका बाउ जाकिमले पनि एक्स्क्यूज दिन पर्थ्यो । हरे..कहाँ गए ती स्वर्णिम दिन । कति आनन्द हुन्थ्यो । यो ८ लेनको बाटो, फ्लाइओभर बने देखि त जामको बहानै सुकेर गए । अब त मान्छे नै किचेर मारिदिँदा पनि बन्द गर्न छोडे । कुनै दिन थिए, बाटोमा कुखुरा मरेपनि देशै ठप्प हुन्थ्यो । हप्तौं बन्द हुन्थे, लाखौ कमाउँथे बाटो बन्द गरेर मान्छेले । फिल्म नै बन्यो यो टपिकमा...उफ्फ...सोच्दा सोच्दै एक्लिसेटर बटारिदै गयो आफै ।

धन्न अफिस पस्दै गरेको कसैले नोटिस गरेन । ढोका मै रहेको डिभाइसमा बुढी औंला थेप्च्याएँ र भित्र पसेँ । केबिनमा पुगेर ल्यापटप खोल्या मात्र के थिएँ फेरी मोबाइल बज्यो ।
पक्कै त्यही ग्याँसवाला हुनुपर्छ । सालेले कुरेर बस्या होला, कति बेला अफिस पुग्छ यो अनि फोन गरूँला भनेर । रिसाउँदै फोन हेरेँ । आब्बुइ...फोन त मैंयाको पो रहेछ । 

मनमा भएको तितो जतिलाइ बोलीको गुलियोमा परिवर्तन गर्दै बोलेँ "हेलो नानु"

"तँ कहाँ थिइस् यत्ति बेर सम्म?"

"म अफिसमा नै छु नि"

"खुब !!!! अफिसमा भएको भए पुग्ने बित्तिकै फोन गर्दिन थिस् र??"

"हैन क्या म अफिसमै थिएँ, अलि काममा अल्झिएको थिएँ । बाइकमा पेट्रोल हाल्दा हाल्दै अलि ढिलो पनि भयो"

"तेरा बहाना...कुन जमानामा छस् क्या तँ? कति उही बाजेको पालाका बहाना बनाउँछस् , बाइकमा पेट्रोल थिएन, जाम थियो, काम गर्दै थिएँ, मिटिङ्गमा थिएँ...अझै अहिले नेटवर्क लागेन भन्दै फोन राख्ने होला तैँले..."

अत्ति भयो अब चै....तर के नै गर्न सक्छु र? भ्यालेन्टाइन डेको मुखैमा हुँदा खाँदाको गर्लफ्रेन्ड सँग के झगडा गर्नु? यो तिन दिनमा कसरि अर्को पटाउनु? एक्लो भ्यालेन्टाइन मनाउनु जतिको बेइज्जत के होला यो संसारमा 

"साँच्ची तेरो कसम ! हेर आज प्रोमिस डे हो । म झुटो बोल्दिन । साँच्चिकै पेट्रोल हाल्दा ढिलो भएको थियो "
"ल ल...यस्तै लापरवाही गर्छस् र त तँ देखि रिस उठ्छ । यस्तै पारा हो भने अर्को भ्यालेन्टाइनमा अर्कै नखरमाउली खोजे हुन्छ । "

यो भन्दा कमैकी नखरमाउली खोजौंला नि "..."

"ल साँझ मलाइ पिकअप गर्नु, डिनर सँगै गर्नुपर्छ"

अर्को आपद्....

साँझ साथीहरूसँग मिलेर फिल्म हेर्न जाने प्लान छ, कता यी मैंया सँग डिनर गरिबस्नु? यहाँ पनि बहाना कै संकट पर्छ फेरी । पहिले पो सजिलो थियो, मोबाइलको सिम निकालिदियो । अनि नेटवर्क लागेन भन्दै बेपत्ता भइ बस्यो आनन्द । यो फोरजी फोन पनि कामै नलाग्ने छ, सुरूङ्गै भित्र पसेपनि नेटवर्क देखाउँछ । फेरी महारानीलाइ भिडियो कलबाट प्रमाण दिनु पर्छ कहाँ छु भनेर? झुटो बोल्ने, लुकाउने त चान्स नै छैन । मोबाइल अफ गरेर बसुँ भने नचाहिने किचलो शुरू हुन्छ । लोडसेडिङ्ग भन्ने कस्तो चिज हो बिर्सिसकियो, दिनको २२ घन्टा लोडसेडिङ्ग हुने ठाउँ यही हो भनेर पत्याउनै गाह्रो । त्यो बेला पो मोबाइलमा चार्ज थिएन भन्दै उम्किइन्थ्यो । भो यिनीसँग बहानाबाजी गर्नु भन्दा बरू साथीहरूलाइ आउन सकिन भन्दा धेरै सजिलो होला । केटाहरूले त कुरा बुझ्छन् नि ।


======

अफिस सकिए पछि बेलैमा पिकअप गरियो मैयालाइ उनको अफिसबाट । भर्खर ५.१५ भएको छ, डिनर गर्नु अघि कतै घुम्न जानु पर्यो । बाइक हुँइक्याइयो पार्क तिर । कलकल बग्ने बाग्मती किनारको यो पार्क हामी दुवैको प्रिय डेटिङ्गस्पट हो । हराभरा रूखहरूको बिचबिचमा दुबोले भरिएको चौर यहाँ बसेर गफ गर्न थाल्यो भने समय बितेको पत्तै पाइँदैन । एउटा छेउको बेन्चमा बस्यौं दुवै ।

"रिसाएका छौ?" उनी बोलिन्

अचम्म्....रिसाउने मेरो आँट होला र?
"छैन नि, किन रिसाउनु?" खिस्स हाँस्दै भने

"अनि किन यत्ती टाढा बसेको त?" लाडिदै भनिन् उनले

हात समाएर बसेका थियौ हामी, .अब यो भन्दा कति नजिक आउनु, तैपनी अलिक सरे जस्तो गर्दै चलमलाएँ म 

"धत् लाटा...कस्तो शर्मिला क्या तिमी त ।"

अचम्मको उपमा दिइन उनले "शर्मिला??"

"अनि के त? पार्कमा आफ्नै साख्खै गर्लफ्रेन्ड सँग बसेका छौ । अनि त्यो पनि यत्ति टाढा बस्छौ ...के के गर्नु पर्छ मैले सिकाउनु पर्छ अब??" लजाएको झै गर्दै बोलिन् उनले

बल्ल कुरा बुझेँ...अब पनि पछि परियो भने सन्तोष पन्तको कान्छो छोरोको पछि लागे हुन्छ .

दुवै हत्केलामा उसको दुइ गाला लिएँ र आफ्नो ओंठ चोसों पारेर उनको ओंठ तिर बढाएँ.....

तर अचम्म..उनको चिउँडो लामो हुँदै आयो, उनको अनुहार भरि बिस्तारै रौं पलाउन थाल्यो, भेम्प्याएरहरू जस्तो दुइटा कुकुर दन्त विस्तारै बढ्यो, अनि कान पनि विस्तारै लामो हुँदै गयो । उनले केही भन्दै थिइन्...तर आवाज अर्कै प्रकारको आयो "कुईयँ...."

===================


.. आवाजले तर्सिएर अचानक आँखा खुल्यो । छातीमाथी मेरो कुकुर उर्वे चढेको रैछ, अनि मैले दुवै हातले उसको गाला समातेर आफू तिर तान्दै रहेछु ....................

Thursday, February 9, 2012

काठमाडूँ: किन हेर्दिन यो चलचित्र

लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लुटको सफलतालाइ अर्को चलचित्र काठमाडूँ, Anything can happen in this city ले पछ्याउन खोजेको छ । चलचित्रको प्रवर्द्धनमा कुनै कमी राखिएको छैन । जताततै छाएको छ यो चलचित्र, प्रिन्ट, टेलिभिजन, रेडियो, शहरका भित्ता जताततै देखिएको छ । लूट हेर्न जाँदा म धेरै आशावादी थिइन,   एउटा निरपेक्ष दिमाग लिएर हेर्न गएको थिएँ । मजाकै थियो, संवाद र चरित्रहरूले चलचित्र गज्जबको बनाएका थिए । तर यही निरपेक्ष दिमाग लिएर म काठमाडूँ हेर्न जान सक्दिन । चलचित्रको पोस्टर प्रोमोले चलचित्र कस्तो बनेको छ भनेर Preview देखाउँछ र मैले त्यो Preview हेरिसकेपछि चलचित्र हेर्नुको औचित्य छैन। मलाइ एसी हलमा २.५ घन्टा सुत्न बिल्कुलै फुर्सद छैन । 
राम्रो काम गर्नेको मुख चल्दैन, उसको काम बोल्छ । काठमाडुँको टिमको भने मुख बढी चलेको छ । जताततै बखान मात्र सुनिएको छ, चलचित्रमा यो देखाएका छौ, त्यो देखाएका छौं, यो प्रविधी, यो लोकेसन आदी इत्यादी । हरे शिव...यो सबै कुरा प्रोमोमा ढंगले देखाउ न किन "यो चलचित्र एकचोटी हेरिदिनु" भनिराख्नु पर्यो? राम्रो छ जस्तो भान पारिदिए त हेरीहाल्छम् नि ।


"काठमाडूँ"का पोस्टर दुइ किसिमका छन् एकप्रकारको पोस्टर आम नेपाली चलचित्रका झै छन् भने अर्को चै "फरक धार" का पोस्टर छन् । अर्थात पोस्टरबाट नै आम नेपाली चलचित्र हेर्ने र नहेर्ने दुवै थरिका दर्शक तान्न खोजेको प्रस्ट हुनछ । तर बुझ्न पर्ने कुरा के हो भने यी दुइ धारका दर्शक मिसाउन सकिँदैन । दुवै तर्फको तान्न खोजियो भने दुवैतिर असफल भइन्छ । दर्शक तान्ने चक्करमा चलचित्र नै खिचडी बनेको छ भन्ने पक्का बुझियो ।

पोस्टर मै RED 4K क्यामेरा, नेपाल तथा अमेरिका (सन फ्रेन्सिस्को)मा छायाँकन गरिएको भनेर लेखिनु भनेको "नेपालमा पहिलो पटक हिरोले पेटमाथीबाट गाडी गुडाएको दृश्य छायाँकन भएको " लेखिएको सरह नै हो । अनि कति दर्शकले RED 4K क्यामेराको महत्त्व बुझ्लान? चलचित्रको preview भन्दा पनि अभिनेता अभिनेत्रीको ज्यान प्रदर्शन गरिएको पोस्टर भएपछि फिल्म कस्तो होला भनेर अपेक्षा गर्नु?

चलचित्रका गीत हेरियो त्यसपछि युट्युबमा, हरे बाबा !! सुखविन्दर र कैलाश खेरले गाएका रैछन् ...काटमान्डूउउउउ भन्दै । हैन उच्चारण नै ढंगले गर्न नसक्ने गायकहरूलाइ गाउन किन दिएको होला मैले बुझ्न सकिन । शायद चर्चाका लागि होला...भारतिय गायकहरूद्वारा गीत गाइएको भनेर । हिन्दीमा गाएको कि नेपालीमा छुट्याउन नसकिने गरी गाउनुले के चै चर्चा दिने हो ?? फेसबुकको New Nepali Cinema (on FACEBOOK) ग्रुपमा टिमका एकजना सदस्यले भने "हामीले नेपाली भाषा र नेपाललाइ भारतीय समक्ष लगेका छौ र हामीले गर्व गर्नु पर्छ "




हाँसो नै उठ्यो । एउटा नेपाली गायकलाइ १० हजार पनि नदिने तर विदेशमा पचास हजार देखि एकलाख सम्म तिरेर नेपाली भाषा उनिहरूलाइ सिकाएर के पाइयो? काठमाण्डूको कथामा यो नेपाली सिकाउने सन्दर्भ कहाँ फिट हुन्छ?  मात्र चर्चाका लागि भारतिय गायक प्रयोग गर्नु चलचित्र निर्माता निर्देशकको मूर्खता हो । चलचित्र झै गीत पनि एउटा कलाको माध्यम हो । चलचित्रको सन्दर्भ मिलाएर गीतको अवस्था  सिर्जना गरिन्छ । त्यो अवस्था भित्र रहेर धून र गीत सिर्जना गरिन्छ, अनि चरित्रसँग सुहाउँदो गायकलाइ गीत गाउन लगाइन्छ । के काठमान्डूका गीतहरूले यो कुरा Justify गरेका छन् त?

चलचित्रका सम्वाद एकदम नसुहाउँदो छन् ।‘जे गरे नि प्रेग्नेन्ट नहुनु, भइहाले नि मलाई इन्फर्म गर्ने हैन, अर्बोसन गरेर घर फर्कनू’ | यो सम्वाद यसरी भनिएछ मानौ एक सेकेन्डमा प्रेग्नेन्ट हुन्छिन्, अनि एकैछिनमा एबोर्सन पनि हुन्छ.. आँखा झिमिक्क गरी । संसारको कुनै पनि आमाले यसरी आफ्नो साख्खै छोरीलाइ भन्दैने, चाहे त्यो आमा अमेरिकी नै किन नहोस् । यो सम्वादले प्रस्ट पारेको छ कि निर्देशकले चरित्र चित्रण कसरी गरेका छन् । "भन्नुस, म कुन बास्टर्ड कि छोरी हुँ"..उफ्फ....आम नेपाली मसाला चलचित्रका उही ढर्राका सम्वाद...के कुरा गर्नु अब ।





प्रोमोमा देखाइएका भिजुअल इफेक्ट हेर्दा त टिठै लाग्यो । बाल्यकालको जमानामा भिडियो गेम खेल्दाको झझल्को दिने खालका इफेक्टमा किन कन्जुस्याइ गरेका हुन् खै? एकसे एक दक्ष र विज्ञ उपलब्ध हुँदा हुँदै पनि आँखै बिझाउने गरी यस्तो घटिया भिजुअल इफेक्ट किन??


फिल्मका निर्देशकको अन्तरवार्ता पढियो एकठाउँमा

काठमाण्डुको मुख्य विषयवस्तु के हो ? भन्ने प्रश्नको उत्तरमा उनले भनेका छन् 
"खासगरी यो चलचित्र भित्र वर्तमान सामाजिक संरचना भनौं वा पुस्तान्तरमा हुने समस्या केन्द्रीत गरिएको छ । एउटा पुस्ता र अर्को पुस्ताबीच जसरी खाडल बन्दै गएको छ त्यसको जड के हो  र त्यस किसिमको खाडलले नकारात्मक कस्तो असर पारिरहेको छ र पुस्ता अन्तरबीचको दूरी घटाउन के गर्दा हुन्छ भन्ने जस्ता कुरा यो चलचित्रमा छ । ड्रक्सको कुलतदेखि लिएर सामाजिक कुलतका कुराहरु यसमा समावेश गरिएका छन् । साथसाथै चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सबटाइटलका माध्यमले राष्ट्रिय विभूती एवं राष्ट्रियताका कुरा यसमा राखेर विदेशी दर्शकका लागि हाम्रा कुराहरुको बारेमा जानकारी दिने प्रयास पनि गरिएको छ । जसअनुरुप सगरमाथा, बुद्ध जस्ता प्राकृतिक छटादेखि लिएर प्रतिभासम्मका कुरालाई यो नेपालको हो र यी नेपाली हुन् भन्ने कुरा चलचित्रमा राखेर सबटाइटलका माध्यमले अन्तर्राष्ट्रिय दर्शकलाई जानकारी गराइएको छ ।"
(फिल्मीखबर.कममा प्रकाशित आकाश अधिकारीको अन्तरवार्ता)

भयो प्रभु, मलाइ खिचडीको स्वाद लिने कुनै रहर छैन । २.५ घन्टाको चलचित्रमा संसार अटाउन खोजेपछि कस्तो विजोग हुन्छ, सोच्न पनि सक्दिन
निर्देशकले फिल्मको नाम KATHMANDU सँग एउटा TAGLINE जोडेका छन्
Anything can happen in this city यो त्यसै राखिएको हैन
उनी आफैलाइ पनि थाहा छैन कि यो शहरमा के हुन्छ, अनि उनलाइ यो पनि थाहा छैन कि काठमान्डू चलचित्रमा के हुन्छ....
त्यसैले Kathmandu हेरिन्न र हेर्न खोज्नेलाइ पनि रोकिन्छ । 

Wednesday, February 8, 2012

वाचा (गीत)


आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरहेका साथीहरू दिनेशराज ज्ञवाली र  प्रभा कुइँकेल प्रति समर्पित रचना




आज अग्नी साक्षी राखी आउ वाचा गरौं
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं



सपना बोकी आँखाहरू झुकाएर आउनु
घुम्टो भित्र खुशीहरू लुकाएर ल्याउनु 
आपसमा बाँडीचुँडी हाम्रो माया गरौ
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं




केही थोपा आसुँ होला केही भने हासोँ
कुनै रहर कुनै खबर केही चै गुनासो
मिसाउन कथा व्यथा हाम्रो मन सादा गरौ
सुख दुःख तिम्रो मेरो आधा आधा गरौं

नटुंगिने रहर




उनीलाइ जानु थियो, गइन् । के भयो र? मलाइ थामिनु थियो, रोकिएको छु । वाचा उनले पनि गरेकी थिइनन् आखिर ! कहाँ दोष दिन मिल्यो मैले ? जसो गरी उनिले बाटो रोजिन् मैले पनि रोज्न जान्नु पर्ने थियो । तर म त त्यही छुटिएको दोबाटोमा अल्मलिएर बसिरहेँ । न त फर्किन सकेँ, न पछ्याउनै चाहेँ । न उनले बोलाइन, न मैले बाटो छेकेँ ।

८० को दशकमा बन्ने कुनै हिन्दी चलचित्रको प्रेमकथा जस्तो छ हाम्रो कथा । एउटा धनी केटी अनि गरिब केटा ! पारिवारिक सामाजिक आर्थिक स्थिति, दुइ विच तगारो छ । तर म भने कहिले पनि त्यो चलचित्रको हिरो झै भिलेन बाउलाइ चुनोती दिन सक्ने भइन । सानो तिनो कोशिश गरेँ असफल भएँ, सम्झौता गरेँ, उनीलाइ पनि सम्झौता गर्न बाध्य बनाएँ । उनको मनमा के थियो मैले प्रस्ट बुझ्ने प्रयास कहिले गरिन । के चाहन्थिन उनि? शायद पुरा गर्ने आँट नभएरै होला कहिले उनका इच्छा पनि सोधिन ।

जानु अघि भनेकी त थिइन्, जाँदैछु भनेर । त्यो जानकारी भन्दा पनि सोधाइ थियो "म के गरूँ ?" भनेर । बुझेर पनि बुझ पचाएँ । जुनीभरीको साथको कल्पना आखिर मेरो थियो । त्यो सपना मैले साकार गर्न खोज्नु पर्ने थियो, तर आफैले पनि प्रयास गरिन । अनि मैले मेरो सपना उनको आँखामा सजाउन खोजेर भयो त? बगि गए सबै सपना, विदाइमा बगेका दुइ थोपा आँसु सँगै...तर राम्रै भयो आँसु बगे । अब शायद कहिले पनि ति आँखाबाट आँसु बग्ने छैनन् । मेरा सपनाका बोझ भन्दा उनको सपनाको उडान शायद बढी प्यारो छ ती आँखाहरूलाई...त्यै भएर त सात समुद्रपारी विरानो विदेशमा उनि खुशी छिन् ।

जब जब याद आउँछ उनको, लुसुक्क उनको फेसबुक प्रोफाइलमा जान्छु । प्रोफाइल तस्विर सँधै झै हाँसेको हुन्छ । उनको हाँसो भरी यती खुशी छल्किएको छ कि, त्यतीले पुग्छ मलाइ । यति मख्ख भइ भुल्छु उनको त्यो खुशीमा .... उनिलाइ अँगालोमा बेर्ने मान्छेको सुद्धा ख्याल हुँदैन मलाइ ।

*********************



तिम्रो माग पूरा यो भएहुन्थ्यो ।
फेरि तिमी को म को भएहुन्थ्यो ।

संसारमा दैव छ तिम्ले भन्यौ,
हाँस्दै मैले भने हो भएहुन्थ्यो ।

छोड यार सक्दैनौ मनाउन ।
उनै हुनुपर्छ जो भएहुन्थ्यो ।

बारी-बारी हाँस्दैछन लालुपाते ।
यति थाहा भएको भएहुन्थ्यो ।

(गजल- दिनेशराज ज्ञवाली, गजल श्रोत)

Wednesday, February 1, 2012

सुन्न नचाहेको ढुकढुकी


उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्रो । समयले हामीलाई नजिक ल्याउँदै गयो, छोटो समयमा नै मित्रता गहिरियो ।

पानी जति गहिरो, त्यती नै ठूलो भूमरी .. हाम्रो मित्रतामा पनि यस्तै उल्झन बढ्दै थिए । उल्झन भने एकै थियो । धेरै चलचित्रहरूमा प्रयोग भइरहने सम्वाद हो यो "केटा र केटी कहिले साथी हुन सक्दैन, किनकी बिचमा प्रेम आउँछ"... हाम्रो कथा पनि चलचित्र झै मोडिँदै थियो ।  विस्तारै उसको व्यवहारमा आउँदै गएको परिवर्तन मैले बुझेको थिएँ । उसलाई म सँग प्रेम भएको लक्षण प्रत्येक क्रियाकलापमा भेट्थेँ ।

मित्रताको शुरूवातमा एकअर्काको खासै चासो हुँदैन थियो हामीलाई..हप्तौं बित्थ्यो भेटघाट बिना, फोन सम्पर्क बिना..अहिले उसलाइ एकदिन फोनमा कुरा गरेन भने युग बितेको जस्तो हुँदो हो । पहिला पहिला उसको कोठा नजिकै पुग्यो भने पनि कुन बहानाले यसलाइ भगाउँ सोच्दी हो । अहिले सानोतिनो कुराका लागि पनि कोठामा आउने निम्तो आउँछ । उ व्यस्त नै छे, कहिले के कार्यक्रम, कहिले के वैठक, कहिले कताको यात्रा, कहिले के को तयारी...व्यस्त दैनिकीका वावजूद दिनको केही मिनेट निस्कन्छ उसको मलाई भेट्न । बहाना कयौं हुन्छन् भेटने तर कारण एकै..उसलाई म नभेटी चित्तै बुझ्दैन । कुराकानीका सबै विकल्पहरूको प्रयोग गर्छे उ, फोन, च्याट पनि । बत्ती हुँदो हो त उसका लागि चौबिसै घन्टा अनलाइन बसिदिनु पर्ने हुन्थ्यो । धन्न बहाना गर्नु परेको छैन, बाध्यता नै भइदिएको छ इन्टरनेट नचलाउनु ।"

आज दिउँसो  क्याफेमा भेट हुँने बित्तिकै उसले भनि
" मलाइ एकाबिहानै तिम्रो कस्तो याद आयो क्या...?"
" हँ!!! मलाइ सम्झियौ रे? हैन सम्झिनलाइ बिर्सने गर्या छ र मलाइ?"
मैले हाँसेरै कुरा उडाउन खोजेँ

अकमकाउँदै बोलि उ
"अँ...सुन न...तिमीसँग नजिक.... हुँदा मेरो मुटु ढुकढुक गर्छ "

म भने हाँसी दिएँ मज्जाले
"ए हो?? ...खै मेरो त जहिले पनि धुक्क धुक्क गरिराकै हुन्छ"
उ सक्पकाइ..एकछिन केही बोलिन ।
खिस्स हाँस्दै भनि "कति कठोर अनि निरस छ तिम्रो मुटु, सँधै एउटै तालमा चल्ने..."

मैले कुरा मोडेँ..मोड्नै पर्थ्यो । जुन बाटो जानु नै छैन त्यता सोध्ने त परको कुरा..हेर्न पनि चाहन्न ।

उ राम्री नै छे, मनसँग दिमाग पनि राम्रै चल्छ, काम गर्छे...सबैभन्दा ठूलो कुरो मलाई चिन्छे, बुझ्छे । तर पनि म उबाट टाढा भाग्छु, उसको चाहना भन्दा पर पर हुन चाहन्छु । कारण एक हैन हजार छन...
राजधानी सहरमा कामको ठेगान बिना काम गर्दैछु । दुइवटा कोठालाइ बढाएर फ्ल्याट बनाउन सकेको छैन ।  घरबेटीको डरले घर जहिले पनि अँध्यारो परेपछि पसिन्छ, थाहा छैन कहिले उसले बाँकि पैसा माग्ने हो । देशमा चलेको अभावको लहरबाट अछुतो हुन सकेको छैन मेरो भान्छा । आमा, बहिनीको ईच्छा आकांक्षा बुझेर पनि बुझ पचाई बस्नु परेको छ । पढाई ब्याचलर भन्दा उँभो लाग्न सक्या छैन, मास्टर्सको पढाइमा प्रत्येक वर्ष एउटा न एउटा विषय लागेकै छ । सम्पत्तीको नाममा एउटा पुरानो साइकल बाहेक आफ्नो केही छैन । खल्तीमा पर्स त बोकिन्छ, तर पर्स जहिले पनि हलुंगो हुन्छ ।

यी अनेक बाध्यता बिच पिल्सिएको मेरो मनका रहरहरूलाई एकान्तमा सुम्सुम्याउने त फुर्सद छैन, म कहाँ उनका लागि सपना बुनि बसुलाँ र??


"विहानी प्रहर....
यो भिडको शहर
अनि ट्राफिक जाम
अनायासै तिमीसँग
नजर जुध्दा
तिम्रो तारिफमा
हतार हतार
हत्केलामा कोरिएको एउटा कविता.....

साँझसम्मको
मेरो मेहनतले पलाएको
पसिनाले
मेटाई दिएछ "

Sunday, January 29, 2012

सुपरहिरो


डुबिसकेको घाम अनि झिसमिसे साँझ, सूर्यास्त सँगै अँध्यारो छाउन थालेको थियो । सडक बत्ती, होर्डिङ्ग बोर्ड, साइनबोर्ड पनि सुस्ताएर निभेका थिए । देशको उर्जा सङ्कट छरपस्ट बाटो वरिपरी देखिन्थ्यो ।  घरतिर हतारिदैँ गरेका सवारीसाधनहरूको बत्तीले भने बाटो उज्यालै गरेको थियो । जुनसुकै बेला हुने बानेश्वर शान्तीनगरको जाम छल्न सँधै झै बुद्धनगरको बाटो हुँदै बालकुमारी तिर लागेँ  । बाग्मतीको पुल निर पुगेपछि मोबाइलको घन्टी बज्यो । घर पुग्ने हतारमा रहेकोले मोबाइल उठाउन मन लागेन । एकछिन पछि घन्टी फेरी बज्यो, खल्तीमा छामछुम गरेर फोनको रिसिभ बटन थिचेँ । कानमा टाँसिएको हेडफोनमा उही चिरपरिचित प्रिय आवाज बोल्यो ..


"कान्छु..कता?"
" बाटोमा.."
" बाटो कहाँसम्म पुग्यो?"
"शंखमूल"
"त्यहीँबाट फर्किहाल त..... भेट्नु पर्ने छ"
"ल ! त्यस्तो के पर्यो र?"
"तँ आउँछस् कि आउँदैनस्?" आवाजमा अलि रिसको तातोपना थियो
"हेत्तेरी !! यत्ती बेला भन्ने हो त? म आधा बाटोमा छु । अघि नै भनेको भए सिधै आउँथे नि । के भयो भन् त"
"केही होइन, भेट्न मनलाग्यो नि । मैले तलाइँ भेट्न पनि कारण चाहिन्छ?? "
"अनि अघि अफिसबाट निस्कने बेलामा फोन गर्नु पर्दैन त?"

"अघि नै गर्थेँ नि, मोबाइलमा चार्ज नै भएन । बल्ल बत्ती आयो, चार्जमा लगाएर तिमीलाइ फोन गरि हालेको नि"
"के गर्नु त?? घर पुग्ने आधा बाटो पुगी सकेँ, बाइकमा तेल पनि छैन । भोली बिदाको दिन, पम्प खुल्दैन । तेलले भोलीसम्म भ्याउनु पर्छ । भोली एकैचोटी भेटुँ न है"
"......."
"हेलो, हेलोssss"
"ल ल ...राखेँ"

उनी रिसाइहालिन् । केही नभनी फोन राख्नुको अर्थ त्यही हो । हुन त नभेटेको लगभग १५ दिन नै भइसक्यो । भेट्न मन त लाग्दो नै हो, मलाइ पनि भेट्न मन नलागेको कहाँ हो र? तर बाध्यता पनि त छ । बाइकको ट्याङ्कीमा पेट्रोल छैन । भनेको समयमा भनेको ठाउँमा पुग्न सकिँदैन । बत्ती नभएर सबै काम रोकिएको छ । काम गर्ने बेलामा बत्ती हुँदैन, बत्ती भएको बेला काम हुँदैन । मोबाइलमा कुरा गरूँ भने, आफ्नो मोबाइल अन भएको बेला उसको अफ हुन्छ भने उसकोमा चार्ज भएको बेला मेरो मोबाइल अफ हुन्छ । अनलाइनमा गफ गरूँ भने एनसेलको डिभाइस बत्ती गएको बेला जिपिआएसबाट एजमा उँभो लाग्दैन..उफ्फ...यो अभावको जिन्दगीले.. जिन्दगीमा भएको एउटा राम्रो कुरा पनि छुटाइदेला जस्तो हुँदैछ ।

कोटेश्वर पुगेपछि ट्राफिक बत्तीमा रोकिएँ । जापानिजहरूले बेलैमा बुद्धी पुर्याएर ट्राफिक लाइटमा सोलार जडान गएर गए, नभए बत्ती गयो कि जाममा फसेर हैरान भइन्थ्यो । मोबाइल फेरी बज्यो..
"हेलो"
"कान्छु, आउ न भन्या..कस्तो भेट्न मन लाग्या छ"
"म घर पुग्नै लागिसकेँ, भोली बिहानै आउँछु नि हुँदैन"
"....."
"भोली बिहानै आउँछु, अनि कतै....नजिकै घुम्न जाउँला नि ..हुन्न??"

"कान्छु तिमीलाइ स्पाइडरम्यान मनपर्छ??"
यो अचानकको असान्दर्भिक प्रश्नले म हल्लिएँ...
"के रे?? स्पाइडरम्यान"
"कि क्रिस मनपर्छ"
"हैन..के कुरा गर्या??"
"पक्कै पनि सुपरम्यान मनपर्छ"
"हैन..खुस्किस् कि क्या हो?? के भन्छे फेरी"


"सुन् न..तँ स्पाइडरम्यान बन न है..... तँ स्पाइडरम्यान भएपछि सरररर यो सहरका ठूला साना घरहरू छिचोल्दै, हावामा लहराउँदै आउँछस् । न जामको चिन्ता, न समयको सुर..न गाडी चढ्नु पर्ने, न तेलको चिन्ता न केही "

उनी एकसुरमा भन्दै गइन
"तँ क्रिस बन न है...सरर उडेर मेरो घरको छतमा आइज । न समयको चिन्ता, न घरका मान्छेको पिर..."
कल्पनाको उडान अझै अन्तरिक्ष छुँदै थिए

"तँ सुपरम्यान बन न है...मलाइ सर्लक्क अँगालोमा बेरेर माथ्थीsssss आकाशमा उडाएर लैजानु, अनि चन्द्रमामा एउटा शान्त, उज्यालो कुनामा गएर बसौंला । त्यहाँ लोडसेडिङ्को चिन्ता पनि हुन्न । जहिले पनि उज्यालो भइराख्या हुन्छ...ल भन् तँ के बन्ने, मैले ३ वटा अप्सन दिएको छु । के बन्ने हो बनेर आइज छिटो भेट्न"

यति भनेर फेरी फोन राखियो...
अनि म सोच्दै थिएँ
"साला !! यो अभावको जिन्दगी......कुनै दिन त्यस्ता थिए जति बेला खल्तीमा पैसा हुँदैनथ्यो, जिन्दगी आरामै थियो । न पैसा थिए, न चाहना थियो । न बाइक थियो न पेट्रोलको चिन्ता । एक हजार पर्ने सस्तो कालोसेतो मोबाइल बोकिन्थ्यो, बेट्री ३ दिन चल्थ्यो..... अहिले अलि अलि पैसा त कमाइयो, सँग सँगे अभाव पनि आइ लाग्यो । डेढलाखको बाइक चढिया छ डेढसयको पेट्रोल पाइया छैन । पन्ध्रहजारको मोबाइल बोकिया छ पन्ध्र घन्टा पनि बेट्री टिक्दैन..."

"साला...यस्तो अभावको जिन्दगी, यसले त सुपरहिरो बन्नै पर्ने माग पो गर्यो त..आफ्नै गर्लफ्रेन्डले पेन्टमाथी कट्टु लगाउने उर्दी जारी गरिदिइन त "

Friday, January 27, 2012

जुन जोगी आएपनि कानै चिरेको

आज बिहानै मित्र "जअ-नक-राजा"ले डाक्टर बाबुराम भट्टराइ प्रतिको भडास निकालेको लेख {डाक्टर बाबुराम र उँटको कथा: JAW KNOCK APPROACH}पढियो । मैले पनि बाँडिदिए भित्तामा, धेरै साथीहरूले मनपराए । मनपराउने नै भए, मनका कुरा जो लेखिदिए साथीले । एउटा सक्षम कहलिएका राजनेतासँग धेरै नै अपेक्षा गरेका थिए, उनले तासको महल जस्तो गर्लयाम् गुर्लुम्म ढालिदिए सबै आशा । मलाई भने कुनै रिस वा गुनासो छैन किनकी कुनै आशा पनि थिएन ।

मलाई राजनीति र राजनीतिकर्म मन पर्दैन । मलाई कुनै राजनैतिक घटनाक्रममा खासै चासो पनि हुँदैन । एउटा नागरिकको कर्तव्य पुर्याएर भोट चै खसाल्छु । मेरो लागि "राजनीति" भोट दिने बाहेक अरू कुनै बेला पनि सरोकार राख्दैन । कुन पार्टी सरकारमा पुग्यो वा को, कुन पदमा पुग्यो भन्ने कुराले मेरो ध्यान तान्दैन किनकी कसैले यहाँ केही फरक पार्दैन भन्ने कुरा इतिहासले मलाई प्रस्टयाइसक्यो । कसैले भन्थे, " नेतालाई चोर, फटाहा, डाँका, गुन्डा, ठग, सामन्त( माओवादको असरले होला यो शब्द भनेको) भनेर भनिराख्नै पर्दैन, नेता भने पुग्छ । नेता भन्ने शब्दले नै सबै उपमा (गाली) समेट्छ" । मलाई पनि यस्तै लाग्छ, राजनीतिमा लागेको मान्छेले नैतिकता भन्ने भावना बाटोमा मिल्क्याएर, कुल्चिएर अगाडी बढेको हुन्छ । कामको त कुरै छाडौ, बोली सम्मको ठेगान हुँदैन । 

[Pic: (c)Kantipur Publications Pvt. Ltd.]
अब फेरी फर्कौ, बाबुराम तिर । पहिले अर्थमन्त्री हुँदा सम्म राम्रै काम गर्या झै लाग्या थियो । एउटा इन्जिनियरले वित्तका क्षेत्रमा देखाएको विशेषज्ञताले म पनि प्रभावित भएको थिएँ । तर त्यती बेला उनलाइ सरकार ढल्ने चिन्ता चै थिएन र त्त ढुक्क भइ काम गर्या थिए । पहिले एउटा मन्त्रालय र दुइटा सचिव, अहिले ४८ वटा त मन्त्री नै सम्हाल्नु पर्ने, त्यो पनि दशौं झिना मसिना पार्टीका । बाबुराम प्रधानमन्त्री हुने रहर गर्दा नै उनका नेताहरू प्रचन्ड र वैद्यले छिर्के हान्ने प्रयास नगरेका होइनन् । पहिले जंगल-जंगल डुल्दा त कुरा नमिल्या, अहिले कुर्सी पाउने कुरामा कहाँ बाँकी राख्थे र? कसरी प्रधानमन्त्री नबनुन् भनेर षडयन्त्र हुन थाले पछि आफ्नै पार्टी भित्र देखाउन भएपनि सरकार बनाउनै पर्ने भयो । एमाले, काँग्रेससँग कुरा नमिलेपछि मधेसी पार्टीको शरणमा पुगे तिनी । देशका राजनितीको "र" बुझ्ने फुच्चा फुच्चीले पनि फरर बखान गरिदिन्छन् मधेसी पार्टीका अग्रज नेताहरूका स्वार्थ र अवसरवादका कथा । कति भागबन्डा गर्नुपर्यो, कति लेनदेन गर्नुपर्यो घटनाक्रमले थाहा दिइ हाल्यो । शुरू मै नेपाली मुस्ताङ्ग गाडी चढ्दा मलाइ हाँसो नै उठेको थियो । हुलासको सित्तैमा ब्रयान्ड एम्बेस्डर बनिदिदाँ "हुलास कम्पनी"ले सरकार गठनमा कति सजिलो पारिदिएको होला, आफै अनुमान गरूँ । सरकार बनाउन भएको खर्च त बेहोर्नै पर्यो आखिर, अब बाबुरामकी घरकी हिस्सी परेकी लक्ष्मीले यो जिम्मा पाएकी छिन् । सरकार निर्माणका दौरानमा खपत भएको  धन फिर्तिको बन्दोबस्त गर्ने । बल्ल तल्ल भ्यागुतोको धार्नी बटुलेर बनाइएको सरकारले राम्रो काम गर्ला भनेर मैले आशा गर्नु त परको कुरा, सोच्या पनि थिइन । अब आश्वासन र भाषणका कुरा चै नगरूँ, नेताले गर्ने एकमात्र काम त्यही हो ।

Photo courtesy: boloji.com
एकछिन मधेसी पार्टीको कुरा गरूँ । बुढापाकाले भनेको सुनेको थिएँ, गुरूहरूले हप्काउँदा सुनेको थिएँ, साथीहरूले जिस्कदाँ सुनेको थिएँ, नाम अनुसारको काम फिटिक्कै हुन्न अरे । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत शब्दकोषका अनुसार "सद्भभावना" भन्नाले "१. असल भाव वा विचार, स्नेह र हितपूर्ण स्वच्छ विचार, २. मैत्री भावना, मेलमिलाप" हुँदो रहेछ । अब के भनुँ ? यो शब्दार्थमा भनिएको एक एक शब्दको विपरीत नै छ यो पार्टी । सद्भावना पार्टी, नेपाल सद्भभावना पार्टी, संघीय सद्भभावना पार्टी अनि के के हो के के? सद्भावना कति प्रकारको छ भनेर सोध्दा निर्वाचन आयोगलाइ पनि तिरिमिरी हुँदो हो । अर्को वरिष्ठ मधेसवादी पार्टी, मधेसी जनाधिकार फोरम । फोरमको अर्थ हेरौ शब्दकोषमा Forum: 1. a meeting or assembly for the open discussion of subjects of public interest . यहाँ कुन पदाधिकारीले कुन पद खाने बाहेक अरू कुनै विषयको छलफल हुँदैन । त्यो छलफल पनि तोडफोडमा टुंगिन्छ र त्त यो पार्टीको नाम पनि नेपालीकरण भएर "फोडम् " भएको छ । लोकतान्त्रिक, गणतान्त्रिक के के हो? फुट्ने क्रममा नाम नजुरेर कतै "मजफो, राजतन्त्रिक" भनेर नाम पो नराखुन् ।

नेताहरूबाट अपेक्षा नगरौ, यिनीहरू एकै ड्याङ्गका गान्टेमूला हुन् भनि म भन्ने गर्छु । जे, जति, जस्तो भएपनि बाबुराम डाक्टरसाबले मेरो कुरो चै राखिदिएका छन् । जे मा पनि बोर्ड फस्ट हुने बानी रैछ वहाँलाई, भ्रस्टाचार, कुशासन आदी इत्यादी के के हो, छोटकरीमा भन्दा नेतागिरीमा पनि बोर्ड फर्स्ट हुने चाला लिएका छन् । देश चलेकै थियो, चलिरहनेछ । पञ्चहरू, गिरिजा, शेरबहादुर, ज्ञानेन्द्रले त चलाए भने बाबुराम त अलि दिमाग भएका मान्छे । चल्ने नै छ । जनता जहिले पनि कामधाम छोडेर कुरा काटेरै बस्ने नै छन् । कहिले काँहि त लाग्छ क्या, देशका नेता असल भएर असल काम गरिदिए यी जनताले कुरा चै कसको काट्ने हुन्??


Thursday, January 26, 2012

मुक्तक

प्रेम यात्रामा यात्री हुँ म बाटो पनि म नै
होस गर है तिमीले टेक्ने माटो पनि म नै
मुस्कानको त्यो तेर्सो धर्सा कोर्ने मसी नि म
तिम्रो गालामा बग्दै सुक्ने टाटो पनि म नै

बुढ्यौली

अनुहार भरि कोरिएका
जिन्दगीमा घुमाउरा बाटोमा हिँडेका
पैंतालाका डोबहरू
झिनो आशा जिन्दगीको
प्रतिक्षा छ अवसानको
चिताको रापमा सल्किएर मेटिनु अगाडी
न्यानो ताप्दै जिवनको

Tuesday, January 24, 2012

लूटः तपाइँको भविष्य तपाइँकै हातमा छ


"तपाइँको भविष्य तपाइँकै हातमा छ"
यो संवाद लूटमा प्रयोग भएको छ । तर सुन्न पाउनु हुन्न, पढ्न पाउनु हुन्छ कतै । निश्चल बस्नेतको भविष्य पनि उनकै हातमा थियो र उनले भविष्य राम्रै बनाएका छन् ।
प्रोमो अनि पोस्टर हेर्दा पनि विश्वस्त हुन सकिएको थिइएन । प्रोमो राम्रो अनि चलचित्र चै उही पाराको "नेपालीपन" बोकेको हुन सक्ने सम्भावना थियो । तर फेसबुक र ट्विटरमा भएको चर्चा पश्चात विश्वस्त भइयो कि चलचित्रमा दम छ । भिड राम्रै थियो चलचित्र भवनहरूमा, बुकिड्ग गर्दा पनि टिकट लिन ठेलमठेल गर्नु पर्दा खुशी नै लागेको थियो ।

बैंक लूटको कथा नौलो पनि छैन तर प्रस्तुतीकरण र नेपालको सन्दर्भमा भएको Adaptation
चै प्रशंसनीय छ । बैंक लुट्ने कसरी भन्दा पनि बैंक किन लुट्नु पर्यो र कसले लुट्दैछ भन्ने कुरामा कथा केन्द्रीत छ । "म सँग बैंक लुत्ने मास्तर प्लान छ" भन्ने हाकु कालेको मास्टर प्लान कस्तो र कत्तीको प्रभावकारी छ भन्ने चै कथाको अन्त नपुगी बुझ्न नसकिने छ । तर पनि बैंक लूटलाइ बढी ध्यान दिएको भए कथा अझै दमदार हुने थियो ।

लूटको सबैभन्दा सकारात्मक पक्ष भनेको यसको Realistic Approach हो । लूटमा कृत्रिमता वा नाटकियपन झल्केको छैन । अभिनय, संवादले लूटलाइ जिवन्त बनाएको छ । लूटको आत्मा भनेको हाकु काले हो । सौगात मल्लको अभिनय जिवन्त छ, कतै सौगात देखिन्नन्, मात्र हाकु काले देखिन्छ । तर हाकुको नेवारी लवज चै अलि आएन । अर्को सजिव पात्र गोफ्लेको छ । दयाहाङ्ग राइले लूटलाइ रमाइलो बनाइ दिएका छन् । निश्चल, सौगात र दयाहाङ्गको सम्वादमा खोट लगाउने ठाउँ छैन । चरित्र अनुसार स्वभाविक रूपमा संवादहरू बगेका छन् र यसैले नै लूटलाइ बलियो बनाएको छ। बेलाबेलामा आउने "Beep" ले चै अति नै झर्को लाउँछन् ।

चलचित्रको शुरू मै आएको गीतले निराश चै गर्यो । अनि हरेक चोटी गीत बज्दा निराश भएँ, निर्देशक चलचित्रमा गीत चाहिन्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेकोमा । शुरूवाती गीत र सुजिलको गीत बाहेक अन्य गीत, गीतको हिसाबले पनि राम्रा छैनन् र चलचित्रमा उपयुक्त पनि छैनन् । कोचिएका छन् बेकारमा । खासगरी चर्चामा आएको गीत उध्रेको चोली अनावश्यक नै छ । प्रोमोसनल गीतलाइ चलचित्र भित्रै देखाउनै पर्छ भन्ने छैन । पार्श्व संगितले चलचित्रलाइ धेरै नै सहायता गरेको छ । द्वन्द पक्ष सबल नै छ । भक्तपुरका गल्लिहरूमा खिँचिएको लखेटाइ चै गज्जबको छ । केही द्वन्द दृश्य चै अनावश्यक रूपमा तन्काइएका जस्तो भान पर्छ ।


छायाँकन राम्रो छ तर नयाँ कुरा मैले देखिन । नेपाली चलचित्रका लागि नौलो भए पनि रामगोपाल वर्माका चलचित्रहरूमा देखिरहेको क्यामेरा वर्क लूटमा देखेँ । खासगरी 360 Vertical Rotation, Back View mirror shot RGV को चलचित्रमा प्रयोग भइरहन्छन् ।

समग्रमा भन्दा लूटले नेपाली मूलधारको चलचित्रमा नयाँ आयाम थपेको छ । वर्षौ पछि कुनै नेपाली चलचित्र अपेक्षा गरे अनुसार बनेको छ । लूटको व्यापारिक सफलताले यो प्रमाणित गरिसकेको छ । आगामी चलचित्रहरूका लागि लूट एउटा चुनौती बनेको छ । लूटले पनि सिक्वेलका लागि ठाउँ राखेको छ र स्वयं लूटको टिमलाइ ठूलो चुनौती हुनेछ ।

(तस्विर साभारः https://www.facebook.com/LOOTNEPALIFILM)

Thursday, January 19, 2012

लालटिन

पश्चिम आकाशबाट घामको लाली हराइसकेको थियो । खुला झ्यालबाट झिलिमिली तारा नियाल्दै साँझको योजना बनाउँदै थिए । ल्यापटप खोल्न हात के बढेको थियो, झ्याप्प बत्ती गयो । इन्भर्टर स्वचालित रूपमा सुचारू भयो । टोलभरीमा झलमल्ल एकमात्र घर आफ्नै भयो । तर एक घन्टामा नै त्यो बेट्रीले जवाब दियो । आखिर चार्ज गर्न उसले दिनभरीमा ८ घन्टा त पाउने हो । अनि घरमा भए भरका ४ वटा इमर्जेन्जी लाइट बालियो । फेरी घर झल्मलायो..तर केवल अर्को एक घन्टाका लागि मात्र । इन्भर्टरको भरमा त्यसलाइ चार्ज नगरेको पनि एक महिना पुगेको रहेछ । मोबाइलको मधुरो प्रकाशमा छामछुम गर्दै आमाले खाटमुनी थन्किएको लालटिन निकालिन् अनि सलाइ कोरेर बालिन...लालटिनको मधुरो उज्यालो सँगसँगै गाउँको यादहरू आँखाभरि छाउँदै आयो । जहाँ हरेक साँझ यही क्रियाकलाप हुन्थ्यो ।

आमाले भनिन् "बाबु, मट्टितेल रहेनछ लालटिनमा । भोली लिएर आइज है"
"हुन्छ"

हात पछाडीको खल्तिमा रहेको पर्स तिर गयो । खोलेर हेरेँ..निलो रंगको ५० लेखिएको एक्लो नोट ङिच्च हाँस्दै थियो । अनि सम्झिएँ दिउँसो पेट्रोलियम पदार्थको मूल्यवृद्धीको विरोधमा बाटोमा साथीहरूले लगाएको नारा । दिउँसो बलेको टायरको पिरो धूँवा सम्झियो शायद आँखाले...अनयासै रसायो ।


Tuesday, January 17, 2012

पुतलीसडक

आकाशको उचाँई छुने प्रयास गर्दै
अग्लिएका भवनरूको फेदमा फैलिएको,
पुतलीसडक...
त्यहाँ उभिएर हेर्दा
दूर क्षितिजमा देखिने
पहाड हाँस्दै थियो
सूर्यास्तमा
अनि गिज्याउँदै थियो
उसको हरियालीले

हत्केलामा कोरिएको कविता

विहानी प्रहर....
यो भिडको शहर
अनि ट्राफिक जाम
अनायासै तिमीसँग
नजर जुध्दा
तिम्रो तारिफमा
हतार हतार
हत्केलामा कोरिएको एउटा कविता.....

साँझसम्मको
मेरो मेहनतले पलाएको
पसिनाले
मेटाई दिएछ

एउटा कहानी

जिन्दगीको यो कोसेली, पिरतीको यो कहानी
खुशी खोज्दै साथ रोज्दा रमाइलो भो बिरानी

आँखा बन्द हुँदा खुशी, आँखा खुले आखैँ दुःखी
सज्दै टुट्ने रहरको, आँखामा नै लाग्छ ताँती
सपनामा हाँसो छुट्दा, भिजेको छ यो सिरानी

रमाउने भुलाउने यही मन हो खुल्ला आकाश
चर्काउने दर्काउने यही मन हो घनघोर असार
मन नै हो सच्चा प्रेमी मनै हुन्छ बेइमानी

मलाइ आकाश हेर्न मन लाग्छ

मलाइ आकाश हेर्न मन लाग्छ
क्षणभरमा आकार फेर्ने बादल भएको आकाश
अनन्त रहस्य देखाउने आकाश
अँध्यारोमा टल्पल ताराहरू देखाउने आकाश
सोचाइ र कल्पनाको सीमाले नछुने विशालता बोकेको आकाश
त्यसैले त मलाइ ,
धरतीमा टेकेर मान्छेको मन जस्तो आकाश हेरी रहन मन लाग्छ.

मेरा आँखा

अधरले बोली दिन्नन् मेरा मनका भाका
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा

नखुलेका रहरहरू याद बनि रहे
यादहरू साथ बनि हरपल रही रहे
टुटी जाने सपनीका बिझाउँछ काडा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा

कहिले त स्वप्न अनेक उर्लि गर्छ खलबल
कहिले त आसुँको जोर परी हुन्छ सलबल
आँखाबाटै छुट्छ रहर फाल हाल्ने छाँगा
त्यसै दुख कहाँ पाउँछन् मेरा निश्छल आँखा


pic by Elzbieta_Mozyro